काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८-२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आवको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने भएको छ । साथै नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गरिने भएको छ । सार्वजनिक यातायात व्यवस्थापनः सार्वजनिक यातायात प्रणालीलाई सर्वसुलभ बनाई ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिबृद्धि गरिनेछ । सहरी आवागमनमा भौतिक दुरी कायम गरी महामारी जस्ता विपद्लाई सामना गर्न नागरिक आचारसंहिता तयार गरी लागु गर्ने नीति लिईनेछ ।
सार्वजनिक यातायातका ठूला सवारी साधनहरूलाई प्रोत्साहन गर्न साझा यातायात सहकारी संस्था लगायत अन्य सार्वजनिक यातायात सेवा प्रदायक संस्थाहरूसँग सहकार्य गरिने उल्ल्ेख छ । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सर्वसुलभ र प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गरिनेछ । माइतीघरदेखि तिनकुनेसम्म साइकल लेन निर्माण गरिने उल्लेख छ । यस्तै थापाथलीदेखि बाँसबारीसम्मको सडकमा सवारी साधन लेन, बस ले–बाई, साईकल लेन तथा फुटपाथ व्यवस्थित गर्ने कार्य सुरु गरिने भएको छ । अन्य स्थानहरूमा साइकल लेन निर्माण सम्बन्धमा संभाव्यता अध्ययन गरिनेछ ।
महानगरपालिका क्षेत्रभित्रका मुख्य चोकहरूमा आधुनिक ट्राफिट लाइट जडानका लागि सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यलाई निरन्तरता दिइनेछ । महानगरपालिकाको आफ्नै स्वामित्वमा रहेको टेकुको जग्गामा आधुनिक बहुतले पार्किङ्ग भवन निर्माण गर्ने कार्य यसै आर्थिक वर्षमा शुरु गरी दुई वर्षभित्र सम्पन्न गरिनेछ ।
FACEBOOK COMMENTS