काठमाडौं, पुस २४ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई सपार्न खोजे पनि आफूले नसकेको स्वीकार गरेका छन्। धनगढीमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई सपार्नका लागि धेरै स्याम्पु र साबुनका डल्ला सकिएको प्रसङ्ग दोहोराउँदै ओलीले त्यो प्रयास सफल नभएको स्वीकार गरेका हुन्।
“काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पार्टीमा ल्याएको थिएँ,” ओलीले धनगढीमा भने, “मैले यसअघि पनि प्रचण्डलाई धुनका लागि धेरै स्याम्पु र डल्लाका डल्ला साबुन सकियो तर जस्ताको तस्तै भएको भनेको थिएँ। बानी, उद्देश्य, विचार र मति जस्ताको तस्तै रह्यो, सप्रिएन।” प्रधानमन्त्री ओलीले प्रचण्डलाई लाटोकोसेरोको संज्ञा दिँदै उज्यालो देखिएपछि भागेको आरोप पनि लगाएका छन्।
“लाटोकोसेरो भन्ने एउटा चरा हुन्छ, झलल्ल घाम लाग्यो भने आँखा चिम्लन्छ, अँध्यारोमा मात्रै चल्ने र उड्ने लाटोकोसेरो उज्यालोमा टिक्न सक्दैन,” ओलीले भने, “देशीविदेशी योजनामा रमाउने र अँध्यारोमा षड्यन्त्र गर्ने बानी परेकाहरू उज्यालो देख्नेबितिक्कै भागेका छन्।”
FACEBOOK COMMENTS