दार्चुला — नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ ।
केही दिनअगाडि भारतीय सेनाको चिनूक हेलिकप्टरले गुन्जीमा सामग्री ढुवानी गर्दै तस्बिर : एएनआई
भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एक/दुई पटक उडान गर्ने गरेको थियो । ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२/१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह धामीले भने । भारतले वैशाख तेस्रो साताबाट माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान बढाएको उनले जानकारी दिए ।
धामीका अनुसार भारतले हरेक वर्ष यो समय कालापानीलगायत उत्तरपश्चिम क्षेत्रमा हवाई उडान गर्ने गर्छ । ‘व्यास (भारततर्फ) क्षेत्रमा मानिस बसाइँ सर्ने भएकाले खाद्यान्नलगायत सामान भारतले हेलिकप्टरबाटै ढुवानी गर्छ,’ उनले भने, ‘तर यो वर्ष गस्ती पनि भएकाले धेरै उडान भइरहेको छ ।’
पहिले बाटोको समस्या हुँदा हेलिकप्टरबाटै मानिसलाई माथि पुर्याउने गरिएको थियो । बाटो बनेपछि भने गत वर्षबाट भारततिरका नागरिक पैदल माथिल्लो क्षेत्र जाने गरेका छन् ।
भारतले अहिले धार्चुलाबाट भन्दा पिथौरागढलगायत क्षेत्रबाट हवाई उडान बढी गरिरहेको छ । यसअघि भारतले धार्चुलाबाटै व्यास क्षेत्रमा सबै किसिमको उडान भथ्र्यो । यो वर्ष दिल्लीबाट पनि हेलिकप्टर कालापानी क्षेत्रमा आइरहेको भारतीयलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार निर्माणका मेसिन र बढी मात्रामा हातहतियार लैजानुपरे माथिबाटै सिधै हेलिकप्टर नेपाली भूभाग गुन्जीमा अवतरण हुन्थ्यो । भारतले उक्त क्षेत्रको सबैभन्दा ठूलो हेलिप्याड गुन्जीमै बनाएको छ । त्यहाँबाट कालापानीलगायत अन्य भारतीय सुरक्षा पोस्टमा सामान ढुवानी हुने गरेको छ ।
भारतले व्यासतर्फको क्षेत्रमा सुरक्षाकर्मीको संख्या पनि बढाएको छ । पिथौरागढबाट सिधै हेलिकप्टरमार्फत सुरक्षाकर्मी कालापानी क्षेत्रमा पठाएको उक्त क्षेत्रमा काम गर्ने नेपालीलाई उद्धृत गर्दै स्थानीय दलजित कुँवरले बताए । भारतले गुन्जीदेखि कालापानी र लिपुलेकसम्म भारत–तिब्बत पुलिस (आईटीबीपी), भारतीय सेना, सीमा सुरक्षा बललगायत ६ वटा सुरक्षा अंग राखेको छ ।
चीनसितको रणनीतिक क्षेत्र भएकाले भारतले ती ठाउँहरूमा विभिन्न सुरक्षा निकायका क्याम्प राखेको छ । सबै सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन् । नेपाली सुरक्षा अधिकारीले कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मी बढाएको खबर प्राप्त भए पनि के कति संख्यामा थपेको बारे यकिन नभएको बताए ।
पछिल्लो समय भारतले व्यास गाउँपालिका–२ दुम्लिङपारि गर्वाधारदेखि लामरी, छियालेकलगायत क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेको स्थानीय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले भारतले नेपालतर्फको सीमा क्षेत्रमा पैदल गस्ती पनि बढाएको छ । सीमा क्षेत्रको गस्तीमा ५/७ जना आउने ठाउँमा १०/१२ जना तथा दिनमा दुई पटक गर्ने ठाउँमा ४/५ पटक आउने गरेका छन् ।
भारतले पिथौरागढदेखि धार्चुला, छियालेक, गुन्जी तथा कालापानी क्षेत्रमा सुरक्षाकर्मीको ठूलो दस्ता राख्दै आएको छ । स्थानीयका अनुसार भारत–चीनको युद्धपछि भारतले पिथौरागढदेखि माथिल्लो क्षेत्रलाई सुरक्षा निगरानीमा राख्न ठूलो संख्यामा सैनिक क्याम्प राखेको छ ।
दार्चुला–व्यास घोडेटो निर्माण सुरु
नेपाली सेनाले दार्चुला–व्यास घोडेटो बनाउन सुरु गरेको छ । सेनाले व्यास गाउँपालिका–२ को घाटीबगडदेखि वडा नं. १ मा पर्ने मौर्याभिटासम्मको घोडेटो निर्माण थालेको हो ।
करिब ४ सय ५० मिटर क्षेत्रमा २.६ मिटर चौडाइको नयाँ बाटो निर्माण र केही ठाउँमा पुरानो बाटो मर्मत गरिने सेनाले जनाएको छ । त्यसका लागि सेनानीको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोली व्यास–२ स्थित थिमा पुगेको छ । प्राविधिक जनशक्ति र केही निर्माण सामग्री बिहीबार र शुक्रबार थिमामा हेलिकप्टरमार्फत पुर्याइएको हो । प्राविधिकहरूले निर्माण स्थल हेरेपछि अन्य निर्माण सामग्री ढुवानी गरिने गुल्मपति श्यामराज थापाले बताए । ‘थिमा नै बसेर सेनाले बाटो मर्मत गर्छ,’ उनले भने ।
गत भदौमा मौर्याभीरमा ठूलो चट्टान खसेपछि व्यास जाने बाटो बन्द भएको थियो । घाटीबगडदेखि माथिल्लो क्षेत्रमा पहिरो गएको छ । उक्त घोडेटो बाटोको सबैभन्दा बढी समस्या यही क्षेत्रमा हो । बाटो नहुँदा व्यास गाउँपालिका–१ छाङरु र तिंकर गाउँका बासिन्दा भारतीय बाटो प्रयोग गरी सदरमुकामबाट गाउँ फर्केका छन् । व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरेन्द्रसिंह बुढाथोकीले व्यासको घोडेटो बाटो दुम्लिङदेखि विभिन्न ठाउँमा भत्केको बताए । ‘तम्बाकुदेखि दोपखे खण्डमा धेरै अप्ठ्यारो हुनाले मानिस हिँड्नै सक्दैनन्,’ उनले भने ।
दुम्लिङदेखि घाटीबगडसम्म व्यास गाउँपालिकाले बाटो मर्मत र निर्माण पनि चालु नै राखेको वडाध्यक्ष बुढाथोकीले बताए । मौर्याभीरमा विस्फोटक पदार्थ प्रयोग नगराएसम्म बाटो खोल्न सम्भव नभएकोले सेनामार्फत बाटो निर्माण भइरहेको हो । असार मसान्तभित्र बाटो खोलिसक्ने सेनाले जनाएको छ । त्यसपछि नेपाली भूमि भएर व्यास जान सकिन्छ ।
द्वन्द्वकाल अघिसम्म नेपालकै बाटो भएर आवतजावत गर्न मिल्थ्यो । तर त्यसयता बाटो मर्मत हुन सकेको थिएन । भारतले महाकाली किनारै किनार लिपुलेक सडक निर्माण गरेकाले व्यासको घोडेटो भत्केको स्थानीयको भनाइ छ । मन्त्रिपरिषद्ले गत वैशाख १४ मा महाकाली लोकमार्गको दार्चुला–तिंकर सडक खण्डमध्ये घाटीबगड माथिको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०६५/०६६ मा निर्माण सुरु गरिएको १३४ किलोमिटर लामो दार्चुला–तिंकर सडकमा हालसम्म ४० किलोमिटर मात्रै ट्रयाक खुलाइएको छ । सेनाले पहिलो चरणमा घोडेटो र दोस्रो चरणमा मोटर बाटो निर्माण गर्न लागेको हो ।
FACEBOOK COMMENTS