काठमाण्डौं– साना किसानहरुको राष्ट्रिय सम्मेलन फागुन १६ र १७ गते काठमाण्डौंमा हुँदै छ ।
२०७१ सालमा पहिलो सम्मेलन गरेका साना किसानले यो वर्ष दोस्रो सम्मेलन गर्न लागेको हो ।
सम्मेलन साना किसान विकास लघुवित्त वित्तिय संस्था लि., नेपाल कृषी सहकारी केन्द्रीय संघ लि. र साना किसान सहकारी संस्था लि. हरुले आयोजना हुन लागेको हो ।
साना किसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन हुन लागेको आयोजकको भनाई छ ।
गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दीगो विकास लक्ष्यका साथ १४ सत्रमा २८ ओटा कार्यपत्र प्रस्तुत हुने आयोजक समिति उपाध्यक्ष खेम बहादुर पाठकले जानकारी दिएका छन् ।

सम्मेलनले कृषिको रुपान्तरण एवं उद्यमशीलताको विकासले रोजगारी एंव उत्पादनमा वृद्धि भई ‘संवृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई सहयोग पुग्ने आयोजकको विश्वास छ ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलिले गर्ने बताइएको छ ।

सम्मेलनमा देशभरका करिब १ हजार साना किसान प्रतिनिधी एंव विभिन्न क्षेत्रका राष्ट्रिय अन्तराष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद तथा नीति निमार्ता गरी कुल १२ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।