काठमाडौं, असोज ४ – खपत बढ्न थालेको मौकामा बजारमा बोइलर कुखुराको मासुको भाउ बढाइएको छ। उपत्यकामा बोइलर कुखुराको मासुको मूल्य एक सातामा १५ रुपैयाँले बढाइएको हो।
पोल्ट्री संघले शनिबारदेखि लागू हुने गरी जिउँदो कुखुरा प्रतिकेजी १० रुपैयाँ र तयारी मासुमा १५ रुपैयाँले मूल्य बढाएको छ। पोल्ट्री संघका अध्यक्ष जंगबहादुर वीसी भन्छन् मागका तुलनामा आपूर्ति घट्दा भाउ बढाउनु परेको हो। पछिल्लो समय उत्पादित कुखुराको लट निख्रिन थालेपछि मूल्य बढ्नु स्वभाविक भएको दाबी उनले गरे।
बीचमा भाउ घट्न थाल्दा कुखुरापालकले खोरमा चल्ला हाल्नै कम गरेका थिए, त्यसैले यतिबेला कुखुरा मागभन्दा कम आउन थाल्यो, उनले भने। पोल्ट्री व्यवसायीले बेच्ने जिउँदो कुखुराको मूल्य प्रतिकेजी एक सय ९० रुपैयाँ छ भने मासु उपभोक्ता मूल्य २ सय ७० रुपैयाँ कायम भएको पोल्ट्री संघले जनाएको छ।
गत साता प्रतिकेजी १५ रुपैयाँ बढेर प्रतिकेजी २ सय ५५ रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका थिए। गत महिना मागभन्दा उत्पादन बढी हुँदा मूल्य घटेर प्रतिकेजी २ सय ४० रुपैयाँ र जिउँदो कुखुरा प्रतिकेजी १ सय ७० रुपैयाँ भएको थियो। पछिल्लो समय सातापिच्छे मूल्य क्रमिक बढ्न थालेको छ। मासुको मूल्य अबको केही समय बढ्दै जाने अनुमान व्यवसायीको छ।