काठमाडाैं, फागुन २८ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई प्रतिगामी भनेकाले आफूहरु सरकारमा रहिरहन नहुने बताएका छन् ।
आज बुटवलमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले नेकपा एमालेका नेता माधवकुमार नेपाल, प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेर मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।
“सबैसँग समझदारी बनाएर समर्थन फिर्ता लिँदा सरकार ढल्छ । नगरी फिर्ता लिँदा फेरि अप्ठ्यारो आउन सक्छ,” उनले भने । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का १८–२० सांसदहरुलाई पैसा र मन्त्रीको प्रलोभनमा पारेर आफूतिर लैजान लागेको आरोप पनि उनले लगाए ।
“जनता समाजवादी पार्टीलाई फकाउने, नभए पनि कुनै न कुनै तरिकाले पैसा, मन्त्री दिएर १८–२० सांसद् लगेर बहुमत कायम गर्ने कसरत उनको छ,” प्रचण्डले भने । कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्ताव राखी ओलीलाई केही दिनभित्रै बिदाइ गर्ने कसरतमा आफूहरु रहेको पनि उनले बताए ।
FACEBOOK COMMENTS