काठमाडौँ — गोली सिसाको, ए मेरो माया किन रिसाको।।। ‘गाउँले’ फिल्मको गीत हो यो । त्यसताका नेपाली फिल्म क्षेत्रमा राजेश हमालको रजगज थियो । उनकै लागि फिल्म बन्थे, एकै दिन ३–४ वटासम्म फिल्मको सुटिङमा समय दिन्थे । यस गीतमा उनीसँग नाच्ने दीपाश्री निरौलाचाहिँ संघर्षरत थिइन्, फिल्म पाउनै मुस्किल पर्थ्यो ।
दुई दशक बित्यो । समयसँगै राजेश र दीपाश्रीको व्यस्तता र सफलताको रफ्तार बदलियो । राजेश तीन वर्षयता फिल्म अभिनयबाट पूर्णरूपमा टाढा छन्, त्यसअगाडि पनि उनी अभिनीत फिल्मले सफलता हासिल गरेका थिएनन् । दीपा भने कलाकारबाट निर्देशक बनिन् । उनले निर्देशन गरेको ‘छक्का–पन्जा’ सिरिजका तीन फिल्म ब्लकबस्टर भए । यी फिल्मको निर्माण समूहमा पनि उनी संलग्न थिइन् ।
हिजो जसरी पोस्टरमा राजेशको फोटो राख्दा फिल्म चल्छ भनिन्थ्यो, आज उसैगरी दीपा र दीपकराज गिरीको फिल्ममा दर्शकको भीड लाग्छ ।
यतिबेला राजेश र दीपा चर्चा ९विवाद रु० को घेरामा छन् । त्यसको कारण हो, दीपाले राजेशलाई भन्ने गरिएको ‘महानायक’ उपाधिमाथि प्रश्न उठाउनु । प्राइम टेलिभिजनसँगको कुराकानीमा उनले भनेकी छन्, ‘राजेश दाइ मात्र महानायक हुनुभयो, निर्देशक र निर्माता महानायक भएनन् । फिल्म बन्न थालेको ५०–५२ वर्ष भइसक्दा पनि नेपाली फिल्म क्षेत्र लिन्ठिङ–लिन्ठिङ छ । फिल्म पायो भने खेलिहाल्ने रु’ राजेशले एउटै गीत वा दृश्यमा मात्र पनि खेलिदिने भएकाले महानायकको साख नजोगिएको, फिल्म क्षेत्रलाई हाँक्न कुनै भूमिका नखेलेको, बलिउडमा अमिताभ बच्चनले झैं काम नगरेको उनको आरोप थियो । कुराकानीका क्रममा दीपा यतिमै रोकिन्नन्, बरु हाँस्दै प्रश्न गर्छिन्, ‘महानायक अहिले पनि हुनुहुन्छ र रु’
दीपाको भनाइको सारमा खास समस्या देखिन्न तर प्रस्तुति र हाउभाउले भने राजेशलाई ‘होच्याउन’ वा हल्का रूपमा लिन चाहेको छनक मिल्छ । अनि त, राजेशका शुभचिन्तक र फ्यानलाई के चाहियो रु सामाजिक सञ्जालमा दीपामाथि चौतर्फी आलोचना र टीकाटिप्पणी सुरु भइहाल्यो । अरू त अरू, फिल्म क्षेत्रभित्रै कित्ताकाट भयो । कतिले दीपालाई साथ दिए, कतिले राजेशको गुणगान गाउँदै दीपामाथि गाली बर्साए, ट्रोल बनाए । निर्माता टंक लम्सालले राजेशले ‘अर्जुन’ फिल्म खेलिदिएकै कारण आफूले काठमाडौंमा घर बनाउन सकेको भन्दै फेसबुकमा घरकै फोटो सार्वजनिक गरे । भलै केही वर्षयता उनी अमेरिकामा बस्दै आएका छन् ।
झन्डै डेढ दशकअघि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने फिल्मसम्बन्धी कार्यक्रम ‘रजतपट’ ले पहिलो पटक राजेशलाई ‘महानायक’ उपाधि दिएको थियो । लगत्तै चलचित्र प्राविधिक संघले औपचारिक समारोहमै उक्त उपाधिलाई अनुमोदन गरिदियो । राजेश र उनका शुभेच्छुक दंग थिए तर त्यहींबाटै ‘महानायक’ उपाधिको आधारमाथि प्रश्न उठ्न थाल्यो । त्यसयता राजेशलाई विवादमा फसाउने मुख्य कारण यही बन्दै आएको छ । तर महानायक उपाधिलाई लिएर यसपटकझैं आममान्छेको ध्यान कहिल्यै तानिएको थिएन । फिल्म क्षेत्रभित्रै पनि उनको समर्थनमा बाहुल्य देखियो । यही कारण हुनुपर्छ, प्रायस् मौन बस्ने राजेशले यसपटक कडा प्रतिक्रिया दिए । केन्द्रबिन्दु अनलाइनसँगको कुराकानीमा उनले दीपाको नाम त लिएनन् तर आक्रोश मिसिएको भावमा भनेका छन्, ‘म सुपरस्टार हो, फलानोसँग खेल्छु, फलानोसँग खेल्दिनँ भनेको भए जो व्यक्ति ९दीपाश्री० ले अभिव्यक्ति दिनुभएको छ, सायद त्यो गोली सिसाको गर्दा पर्नुहुन्थेन होला । उहाँ त २४–२५ वर्ष मेरै वरिपरि हुनुहन्थ्यो ।’ राजेशले यसरी ‘काउन्टर एट्याक’ गर्नुअगावै दीपाले माफी मागिसकेकी थिइन् ।
यसअघिका विवादमा भन्दा यसपटक राजेशले ज्यादा सहानुभूति पाउनुमा तीन तत्त्वले काम गरेको देखिन्छ । पहिलो, दीपा–दीपकले फ््यान मात्र होइन, दुस्मन पनि कमाएका छन् । फिल्म हिट भएपछि दम्भ बढेको आरोप छ उनीहरूमाथि, यसमा सत्यता पनि छ । दीपाको अभिव्यक्ति सार्वजनिक हुनासाथ दीपकले फेसबुकमा ‘इन्टरभ्युदेखि होसियार’ भनेर लेखे । यसले आगोमा घिउ थप्ने काम गर्यो । कहिल्यै राजेशको फिल्म नहेरेको वा अभिनय नरुचाउनेले पनि उनी नै ‘महानायक’ हो भन्ने आशयको प्रतिक्रिया दिए । यसमा राजेशप्रतिको प्रेमभन्दा दीपक–दीपाप्रतिको रिसले भूमिका खेलेको हुन सक्छ ।
दोस्रो, एउटा तप्काले राजेश होइन, अभिनय कुशलता र फिल्मको सफलताका आधारमा भुवन केसी ‘महानायक’ हो भन्दै आएको छ । तर यही बेला अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘ड्रिम्स’ मा जोडिँदा भुवनले आफूलाई दुर्व्यवहार गरेको घुमाउरो शैलीमा दाबी गरिन् । सोही कारण महानायकको विवादप्रति भुवनका शुभेच्छुक मौन बस्न बाध्य भए । अप्रत्यक्ष फाइदा राजेशलाई भयो ।
तेस्रो, सौगात मल्ल, दयाहाङ राईलगायतका नायकप्रतिको वितृष्णा । फरक धारका भनिएका यी अभिनेताहरू पनि हिट हुनासाथ राजेश हमालजस्तै पाएजति फिल्म खेल्न थाले, कथा र चरित्रप्रति ध्यान दिन छोडे । प्रवृत्ति नियाल्दा उनीहरू राजेशकै पुनरावृत्तिझैं लाग्न थालेका छन् । त्यसैले हिजो राजेशको आलोचना गर्नेहरूमा पनि ‘सबै उस्तै रहेछन्, बरु राजेश नै ठीक थिए, कम्तीमा अढाई दशक त फिल्म खेलिरहे’ भन्ने भावनाको विकास भएको छ ।
राजेश हमाल साँच्चै ‘महानायक’ उपाधिका लायक छन् त रु यसबारे चर्चा गर्नुअगाडि उनी आफैं के भन्छन्, त्यसलाई नियालौं ।
अढाई वर्षअघि कान्तिपुर पब्लिकेसन्सकै नेपाल साप्ताहिकका लागि अन्तर्वार्ता लिने क्रममा उनलाई सोधिएको थियो, ‘तपाईंलाई महानायक उपाधिका लागि आफू उपयुक्त पात्र हुँ भन्ने लाग्छ रु’ उनका लागि यो प्रतीक्षित प्रश्न थियो । त्यसैले संयमित हुँदै उनले जवाफ फर्काएका थिए, ‘यसका लागि असाध्यै मिहीन रूपमा नेपाली चलचित्रको इतिहास बुझ्नु जरुरी छ । थाहा छैन, कतिले प्रयास गरेका छन् । यदि नेपाली चलचित्रको इतिहासबाट राजेश हमाललाई निकालिदिनुभयो, त्यसको गति, व्यावसायिकता, नेपाली जनसमुदायले नेपाली भाषाको चलचित्र ग्रहण गर्ने मनोविज्ञान के हुन्थ्यो रु आफैं सोच्नुस् ।’
यति भनेर उनी एकछिन रोकिए, सायद यो उत्तर उनले अपूरो ठाने । त्यसैले अलि फराकिलो आयाममा उत्तर दिन खोजे, ‘आइन्सटाइन, गान्धी, नेल्सन मण्डेलादेखि मार्टिन लुथर किङजस्ता महान् व्यक्तिले अनन्तकालसम्म भयंकर परिवर्तन गर्ने होइन । हरेक व्यक्तिले आफ्नो सोचअनुसार आफ्नो अवधिमा सोच र प्रभाव छोड्ने हो, त्यसले अगाडि बढ्ने आधार र बाटो पाउँछ । तर कसैले आफ्नो जीवनकालमै अनन्तकालसम्मका लागि तार्किक निष्कर्ष दिन सक्दैन ।’ उनको आग्रह थियो, कुन परिस्थितिमा उनले फिल्म खेल्न सुरुवात गरे, कस्ता अन्योलता चिर्दै आए, कसरी आफ्नो बाटो आफैं खन्दै आए, त्यसलाई बुझिदिनुपर्यो ।
कान्तिपुरसँगको अन्तर्वार्तामा मात्र होइन, हरेक सार्वजनिक मञ्चमा राजेशले आफूलाई ‘महानायक’ को एक्लो हकदारका रूपमा प्रस्तुत गर्दै आएका छन् । आफ्नो उदय र सक्रियताको समयलाई नेपाली फिल्मको ‘क्लासिक फेज’ भन्ने गर्छन् । गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा त उनले आफ्नो अभिनय यात्रा अद्भुत रहेको र आफ्नो प्रवेशपछि नेपाली चलचित्रमा ‘मिनी रेभोलुसन’ भएको दाबी गरे । समयसँगै उनको आत्मप्रशंसाको ग्राफ पनि बढ्दै छ ।
उसो भए, ‘महानायक’ को मापदण्ड के हो रु राजेश त्यसमा फिट छन् त ?
सत्य के हो भने उनको आगमनपछि नेपाली फिल्मको संख्यात्मक वृद्धि भएकै हो । उनकै लागि नयाँ निर्माताहरू भित्रिएकै हुन् । परिणामलाई छोडिदिउँ, उनले ‘ग्रुपिज्म’ नगरेको पनि यथार्थ हो । खासगरी ग्रामीण भेग र विदेशी फिल्मसम्म पहुँच नभएकाले उनी र उनका फिल्म मन पराइएकै हो । दुई दशक एकछत्र राज गर्नु पनि चानचुने कुरा होइन । मनोरञ्जन उद्योगबाट सबैभन्दा परिचित अनुहार पनि राजेशकै हो । अन्याय र विभेद भोगिरहेका कतिपय पात्रलाई पर्दामा उतार्न उनी प्रतिनिधि बने । यी तथ्यहरूमा सायदै कसैको विमति छ । तुलसी घिमिरे, युवराज लामाजस्ता पुराना फिल्मकर्मी मात्र होइन, एक समय प्रतिद्वन्द्वी रहेका अभिनेता रमेश उप्रेती पनि राजेश नै ‘महानायक’ भएको बताउँछन् ।
तर धेरै फिल्म खेल्नु मात्र सबथोक हो रु उनको व्यक्तिगत करिअरजस्तै नेपाली फिल्मले किन उपलब्धि हासिल गरेन रु उनका फिल्मको कलात्मक गुणस्तर के छ रु उनले आफ्नो चरित्र जीवन्त बनाउन के गरे रु नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा उनको भूमिका के रह्यो रु उनको स्टारडम समाजको बृहत्तर विकासका लागि प्रयोग भयो रु यस्ता सवालका जवाफ खोज्ने हो भने राजेशलाई ‘महानायक’ मान्न मुस्किल पर्छ । नवीन सुब्बा, मनोज पण्डितलगायत मौलिक फिल्मको पैरवी गर्ने फिल्मकर्मी राजेश हमाल प्रवृत्तिको सदावहार आलोचक हुन् । दुई वर्षअअघि अभिनेत्री रेखा थापाले ‘मेरो फिल्म’ नामक अनलाइनमा राजेश होइन, बरु भुवन केसी ‘महानायक’ हुन् भन्ने अभिव्यक्ति दिएकी थिइन् । कतिपय फिल्मकर्मीले ‘अहिले माहोल उचित नभएको’ भन्दै बोल्न चाहेनन् ।
राजेशका फिल्म कहिल्यै नहेरेकाहरू पनि उनको बौद्धिकताको प्रशंसक छन् । उनी पढेलेखेका छन्, समाज र राजनीतिक घटनाक्रमबारे जानकार रहन्छन्, यो सकारात्मक पक्ष हो तर उनको बौद्धिकता नेपाली फिल्मको स्तरोन्नतिमा सहायक बन्यो त रु अहँ, बनेन । एक समय उनीसँग फिल्मको लय नै बदल्ने सामथ्र्य थियो तर उनले धेरै फिल्म खेल्ने चक्करमा त्यतातिर कहिल्यै ध्यान दिएनन् । कतिसम्म भने उनको ज्ञान उनकै चरित्र निर्माणमा समेत उपयोगी बनेको देखिन्न । ‘महानायक’ को उपाधि धारण गरेपछि उनले खेलेका फिल्मको गुणवत्ता केलाउने हो भने उनको साख र गरिमा जोगिन्न । ‘वाग्मती’, ‘रक्षा’, ‘शकुन्तला’, ‘ज्यान हाजिर छ’, ‘नाइट क्विन’ आदि उदाहरण हुन् । उनले तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरे, अपवादबाहेक ती सबै फिल्मका चरित्रमा तात्त्विक भिन्नता छैन । भलै त्यसलाई उनको ‘ट्रेडमार्क’ भनेर ढाकछोप गरिएको किन नहोस् ।
FACEBOOK COMMENTS