काठमाडौं, २८ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख र संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज शुक्रबारसम्म कुल ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै यो संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ३०५ जना पुगेको छ । मृत्युको यो संख्या कुल संक्रमितको १.३७ प्रतिशत हो ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ९ हजार ५९८ जनाको आरटी–पीसीआर गर्दा २,७०९ जना र ५ हजार ५८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जना गरी आज ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ जना पुगेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३०५ जना पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ जना पुगेको छ । यो कुल संक्रमितको ८६.२ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३१ लाख ९८ हजार ७०२ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ७५ हजार २७५ जना आइसोलेसन र ५९४ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS