काठमाडौं,माघ २८- कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् । यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएको छ । हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । आइतबार नयाँ संक्रमितको संख्या २ हजार ६ सय १८ थियो ।
विश्व स्वास्थ्य संगठनका उत्कृष्ट चिकित्सकको टोली चीन पुगेको छ । अन्तराष्ट्रियस्तरका विज्ञहरुसहितको टोलीले मङ्गलबारदेखि उपचार, रोकथामका उपायहरुको काम थाल्ने सीएनएनले जनाएको छ ।
त्यस्तै तीन हजार नौ सय ९६ जना उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको चीनले दाबी गरेको छ । ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको बताइएको छ ।
FACEBOOK COMMENTS