भदौ २ – कोरोनाबाट सोमबार मृत्यु भएका धुलिखेलका ९८ वर्षीय वृद्धका परिवारका ६ जना र एक आफन्तमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा २ छोरा, २ छोरी, एक बुहारी, एक नातिनी र एक जना आफन्तमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतकका अर्का एक छोरा र बुहारीमा यसअघि नै कोरोना सक्रमण पुष्टि भइसकेको थियो ।
त्यस्तै धुलिखेल अस्पतालका थप ६ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएकाको प्रत्यक्ष सम्पर्कमा आएकामध्ये थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो । यसअघि कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १ सय २० मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका थप १ सय ९० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
कोरोना संक्रमित बढेसँगै धुलिखेल नगरपालिकाले बजार क्षेत्र सिल गरेको छ । वडा नम्बर ७ का ९८ वर्षीय बृद्धको मृत्यु भएको, सोही परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएपछि बजार क्षेत्र सिल गरेको धुलिखेल नगरपालिकाले जनाएको छ ।
जिल्ला कमाण्ड पोस्टले सेवाग्राहीको भीड बढी भएको भन्दै मालपोत, नापी र आन्तरिक राजस्व कार्यालय सेवा अर्को सूचना जारी नहुन्जेलका लागि बन्द गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।
जिल्लामा हालसम्म ९३ जनामा संक्रमण पुष्टि भएको छ । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
FACEBOOK COMMENTS