काठमाडौं, जेठ १७ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरसको महामारीबाट प्रभावित बनेका आफ्ना ग्राहकका लागि हालसम्म १५ लाख १८ हजार २०२ रुपैयाँ ४७ पैसा ब्याज छूट गरेको छ । संस्थाले २०७८ वैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (साँवा तथा ब्याज) गत वैशाख २४ गतेदेखि ३१ गतेसम्म बुझाउने ग्राहकलाई १० प्रतिशत छूट दिएको थियो ।
योजना अनुसार संस्थाका १७९ वटा शाखा कार्यालयका ४ हजार ६७६ जना ऋणी सदस्यले उक्त छूट प्राप्त गरेका छन् । उनीहरुले संस्थालाई बुझाउनु पर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाई सो छूट पाएका हुन् । ब्याज छूटबापतको रकम सम्बन्धित सदस्यहरूको बचत खातामा जम्मा गरिसकेको पनि संस्थाले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि हाल देशभरका अधिकांश जिल्लाका निषेधाज्ञा जारी गरिएको छ । विद्यमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको बताउँदै संस्थाले आफना ग्राहकको अफ्ठ्यारो समयमा साथ दिँदै उक्त योजना अगाडि सारेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यसबाट केही मात्रामा भए पनि ग्राहकलाई सहयोग पुगेको संस्थाको विश्वास छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले हाल ६९ वटा जिल्लामा २४७ वटा शाखा कार्यालय सेवा प्रदान गर्दै आएको छ । संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखेको बताएको छ ।
FACEBOOK COMMENTS