काठमाडौं, असोज २६ – सप्तरीमा मृत्यु भएकी एक कोरोना संक्रमित महिलाको शव परिवारका सदस्यले सुटुक्क जलाएका छन्। कोरोना संक्रमणबाट मृत्यु भएकी ६६ वर्षीया महिलाको शव उनका परिवारका सदस्यले जानकारी नदिइ अन्तिम संस्कार गरेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी महिला राजविराज नगरपालिका–६ सिरहा रोडमा पसल सञ्चालन गरेर श्रीमानसँगै बसेकी थिइन्। उनको सप्तकोशी नदी किनारमा परिवारका सदस्यहरुले आइतबार दाह संस्कार गरेका छन्।
केही दिनदेखि ज्वरो आएको महिलाको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेकी उनलाई आइतबार बिहान स्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको एक घण्टामै मृत्यु भएकी महिला कोरोना संक्रमित भएको जानकारी समेत नदिई परिवारका सदस्यहरुले शव लिएर गएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
FACEBOOK COMMENTS