काठमाण्डौँ — सार्वजनिक पदमा रहेका व्यक्तिको मात्र नभई समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्ने भएको छ ।
सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्ने प्रावधानसहित ल्याएको विधेयकलाई संसद्को राज्य व्यवस्था समितिले परिमार्जन गरेको छ ।
जसमा सार्वजनिक पदमा रहेका, सार्वजनिक रूपमा चिनिएका, सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्तिहरूको विवरणसमेत गोप्य नहुने व्यवस्था राखेको हो ।
विधेयकमा सम्पत्तिसम्बन्धी विवरण, शैक्षिक योग्यता, राहदानी, सवारी चालक अनुमतिपत्रलगायत पहिचान खुल्ने विवरण सार्वजनिक गर्न यो विधेयकले रोकतोक नगर्ने प्रावधान छ ।
सरकारले ल्याएको विधेयकमा यी सबै विवरण गोप्य राख्नुपर्ने प्रस्ताव थियो ।
राज्य व्यवस्था समितिले विधेयक परिमार्जन गर्दै पेस गरेको प्रतिवेदन प्रतिनिधिसभाको शनिबारको बैठकले पारित गरेको छ ।
अब राष्ट्रिय सभाबाट पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि असोज ३ देखि यो कानुन कार्यान्वयनमा आउनेछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS