पर्वत — करिब तीन महिनासम्मको लकडाउनका कारण ठप्प बनेको कुश्मा बजार एक साता खुल्न नपाउँदै फेरि बन्द भएको छ । पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बजार पुनस् अनिश्चतकालका लागि बन्द भएको हो ।
पर्वत उद्योग वाणिज्य संघले अर्को सूचना जारी नभएसम्मका लागि बजारमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्न आह्वान गरेको छ । संघका अध्यक्ष केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसको संक्रमणमा पर्वत उच्च जोखिममा रहेका कारण त्यसबाट बच्नका लागि अर्को व्यवस्था नहुन्जेलसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरी सुरक्षित साथ घरभित्रै बस्न अनुरोध गरिएको छ । अस्पतालका दुई चिकित्सकसहित पाँचै जना स्वास्थ्यकर्मी संक्रमण पुष्टि हुने समयसम्म पनि काममै खटिएको, परिवार र साथीभाइसँग घुलमिल भएको पाइएपछि बजारमा कडाइ गरिएको हो ।
कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड पोस्टले अस्पताल आसपास र बजारको केही भागमा सिल गरेको छ । शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पताल आसपास तथा बडागाउँ क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वसाधारणलाई पैदल हिँडडुल गर्न र पसल खोल्न पूर्ण रुपमा रोक लगाइएको छ । संक्रमित चिकित्सकसहित स्वास्थ्यकर्मीहरुबाट समुदायमा संक्रमण फैलिएको भन्दै बडागाउँबासीले अस्पतालले गम्भीर लापर्बाही गरेको आरोप लगाएका छन् । संक्रमण आशंका गरिएकालाई कम्तीमा एक साता क्वारेन्टाइनमा राखेर नमुना परीक्षणको नतिजा आएपछि मात्रै काममा पठाउनुपर्नेमा संक्रमणकै अवस्थामा काममा पठाएर समुदायमा कोरोना फैल्याएको अस्पताल आसपासका बासिन्दाले आरोप लगाएका छन् ।
समुदायमा संक्रमण फैलिएको आशंकामा संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका ८१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको पर्वत अस्पतालले जनाएको छ । त्यसबाहेक अरु करिब ५० जनाको स्वाब तत्कालै परीक्षण गर्नुपर्ने जनस्वास्थ्य कार्यालयका प्रमुख डा। भोजराज गौतमले बताए ।
FACEBOOK COMMENTS