अन्जनराज न्यौपाने,
तनहुँ, २६ आश्विन-अवैध रुपमा खोलामा करेन्ट लगाई माछा मार्नेहरु प्रहरी नियन्त्रणमा परेका छन्। जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ सानोडुम्रे स्थित चुँदीखोलामा अवैध रुपमा करेन्ट लगाई माछा मारिरहेका ९ जनालाई ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
कहिले एका विहानै ,कहिले दिउँसो त कहिले रातको समयपारी अवैधरुपले माछा मार्दै आएका उनीहरुलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका वडा नं.१ कल्याणटार बस्ने बिशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल,राज कुमाल,प्रदिप कुमाल,बिनोद परियार ,सम्राट तामाङरहेका छन्। उनीहरुलाई चुदी खोलामा करेन्ट लगाई माछामारिरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको मेशिन, टाँगा र जलचर समेत नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले बताए ।
कारवाहीमा परेका ९ जनालाई जनही ५ हजारका दरले जरिवाना गरिएको समेत उनले जानकारी दिए।
FACEBOOK COMMENTS