गुल्मी — गुल्मीको तम्घासस्थित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४, जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको र राति नै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिसकेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । उनको शव जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरिएको छ ।
उनलाई जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै कोरोना पुष्टि भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल निको भएर काममा फर्केका छन् । जेठ २ गते भारतबाट आएर पाञ्जायन माविको क्वारेन्टाइनमा बसेका थिए ।
कोरोना पुष्टि भएपछि तम्घासस्थित रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो । गुल्मी अस्पतालका डा। उत्तम पच्याका अनुसार उनी क्यान्सरका बिरामी थिए । भारतमा क्यान्सरको शल्यक्रिया गरी फर्कंदा उनी संक्रमित भएको देखिएको छ । तीन पटकसम्म गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि उनको आइसोलेसनमै उपचार भइरहेको थियो ।
गुल्मी जिल्लामा अहिलेसम्म ७ जनामा कोरोना संक्रमण देखिएको छ । दुई जना निको भएर घर फर्केका छन् । योसँगै २ जनाको मृत्यु भएको छ । तीन जनामध्ये एक जनाको काठमाडौं र एक जनाको तम्घासमै उपचार भइरहेको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
FACEBOOK COMMENTS