काठमाडौं । गैरआवासीय नेपालीको सहयोगमा नारायणी अस्पतालमा बालबालिकाको उपचारका लागि आइसीयू बन्ने भएको छ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को सहयोगमा नारायणी अस्पतालमा बाल आइसीयू बन्न लागेको हो। अस्पतालमा बाल आइसीयू बनाउनका लागि २२ लाख ६० हजार रुपैयाँ एनआरएनएले उपलब्ध गराउने जनाएको छ। नारायणी अस्पताल विकास समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए)को संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समितिले गरेको प्रस्ताव स्वीकृत गरेको छ।
एनआरएनले बाल आइसीयू स्थापनाका लागी पठाएको कोटेसनसहितको प्रस्ताव स्वीकृत गरिएको अस्पतालले जनाएको छ। उक्त समाग्रीहरु व्यवस्थापनको लागी आवश्यक पर्ने स्थान लगायत अन्य व्यवस्थापन अस्पतालबाट गरिने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा. बिरेन्द्र बहादुर प्रधानले जनाए। कोभिड १९ को विषम परिस्थितिमा एनआरएनएले गरेको सहयोगप्रति अस्पताले धन्यवाद दिएको छ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, जापानले नारायणी अस्पतालमा बाल आइसीयू निर्माणका लागि आवश्यक समन्वयको जिम्मा एनआरएनए जापानका केन्द्रीय सदस्य सुरेश गिरीलाई दिइएको जनाएको छ। संयोजक भवन भट्ट अन्तराष्ट्रिय सदस्य रहेको टोकियो सिन्तोसिन रोटरी क्लबबाट प्राप्त एम्बुलेन्स धादिङको धुनिवेशी नगरपालिकालाई उपलब्ध गराउने र उक्त एम्बुलेन्स राजमार्गमा दुर्घटना भएका स्थानहरुको लागी प्रयोग गरिने एनआरएनएले जनाएको छ।
त्यस्तै ७ हजार थान वाइ कनेक्टर सबै जिल्ला अस्पताललाई वितरण गरिने एनआरएनएले जनाएको छ। एनआरएनले कोभिड विरुद्धको लडाइँमा ५३ लाख ६७ हजार २ सय ११ रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराउने जनाएको छ।
FACEBOOK COMMENTS