काठमाण्डौ, साउन १० – गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो ।
‘९–१० घण्टा भयो, पहिरो गएर नौलीखोला थुनिएको छ,’ स्थानीय वीर गुरुङले भने, ‘पानी बग्न नपाएर ताल बनिसक्यो ।’ मापुमा डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको उनले बताए ।
पहिरो गएको क्षेत्रभन्दा तलपट्टि रहेका नौलीखोला, नयाँबस्तीदेखि झरनासम्मका स्थानीयलाई अहिले सुरक्षित ठाउँमा सारिसकिएको छ । करिब ७० घरधुरी जोखिममा रहेको गुरुङले जानकारी दिए ।
खोलानजिकैको गाउँका स्थानीय सुरक्षित ठाउँमा सरिसकेको र जोखिममा रहेका अरू बस्ती पनि सर्ने क्रममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘पहिरो जाँदा ठूलो ढुंगा खसेर खोलामा बसेछ, अनि पानीले निकास पाएन,’ उनले भने, ‘ताल झन्–झन् ठूलो हुँदै छ ।’
खोला थुनिएपछि उक्त क्षेत्रमा अहिले पैदल आउजाउ पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । नेपाली सेना र नेपाल प्रहरीसहितको टोली घटनास्थल पठाइएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS