काठमाडौं, पुस ६ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानन्तर ट्याक्सी-वे निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया अघि बढाएको छ।
विमानस्थलको दोस्रो चरणको आयोजनामा निर्माण हुने उक्त कामका लागि प्राधिकरणले परामर्शदाता छनौट गरेको छ।
पहिलो चरणको निर्माणको काम सकिनै लाग्दा प्राधिकरणले दोस्रो चरणको काम पनि अघि बढाएको हो।
विमानस्थलमा अहिले रहेको पूरानो धावनमार्ग भएकै लाइनबाट समानन्तर ट्याक्सी-वे निर्माणको काम अघि बढ्ने छ। यसका लागि डिजाइन तथा परामर्श दिनका लागि सिंगापुरको कम्पनी मेनहार्ड पिटिइ लिमिटेड र आरआइटिइएसको सयुक्त उपक्रमलाई छनौट गरेको हो।
कम्पनीले यो सेवाका लागि २४ करोड ४० लाख रुपैयाँमा सम्झौता भएको छ।
दोस्रो चरण अन्तर्गत प्राधिकरणले भैरहवामा टर्मिनल भवन निर्माण, समानन्तर ट्याक्सी-वे लगायतका पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ।
६ अर्ब ८२ करोडमा पहिलो चरणको भौतिक निर्माणको काम तथा उपकरण जडानका लागि ४८ करोडको योजना बनाएको प्राधिकरणले दोस्रो चरणमा पनि पहिलो चरणकै बराबरको लागत अनुमान गरेको छ। दोस्रो चरणका लागि पनि प्राधिकरणले एसियाली विकास बैंकको ऋण लिएर आयोजना निर्माण गर्ने भएको छ।
सरकारले उक्त विमानस्थलका लागि भन्दै यसअघि नै ऋण लिने निर्णय गरिसकेको छ।
FACEBOOK COMMENTS