काठमाडौं, असोज २३ – ग्राहक तान्न उपत्यकाका सपिङ मलले विभिन्न चाडपर्व योजना सार्वजनिक गरिरहेका छन् । नजिकिँदै गरेका पर्व दसैं, तिहार तथा छठलाई लक्षित गर्दै सपिङ मलहरूले धमाधम अफर, छुट सेल, उपहारलगायत योजना ल्याउन थालेका हुन् ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण करिब ६ महिना लामो लकडाउन खेपेका व्यवसायीले आफ्नो व्यापारलाई उकास्न र किनमेलको चहलपहल बढाउन यी योजना ल्याएको बताएका छन् ।
काठमाडौंका दरबारमार्गस्थित शेर्पा, सुन्धारास्थित सिभिल, न्युरोडस्थित विशाल बजारलगायत मलले ‘फेस्टिभ अफर’ अन्तर्गत छुट र सेलका स्किम ल्याएका हुन् । शेर्पा मलका व्यवसायीले ‘फेस्टिभ अफर’ योजना ल्याएका छन् । व्यवसायीहरू आफैंले फेस्टिभ अफर र पुराना सामानमा छुट राखेको मलका म्यानेजिङ डाइरेक्टर सञ्जीव तुलाधरले जानकारी दिए । ‘व्यवसायीले नयाँ सामानमा १० प्रतिशतसम्म छुट दिएका छन्,’ उनले भने, ‘पुराना सामानमा बढी छुट दिएका छन् ।’
यसैगरी विशाल बजार मलले पनि दसैं अफर ल्याएको छ । यो योजनामा आफ्ना पसलका सामानमा व्यापारीहरूले ४० प्रतिशतसम्म छुट राखेको विशाल बजार व्यापार संघका उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । ‘गएको वर्षको तुलनामा व्यवसाय ७० प्रतिशत घटेको छ,’ उनले भने, ‘लकडाउनपछि शून्यमा आएको व्यापारमा अहिले केही उत्साह थपिएको छ । दसैं आउन १५ दिन अगाडिदेखि नै पसलमा ग्राहकहरूको भीड देखिन्थ्यो । तर यसपालि ग्राहक नै बाहिर निस्केका छैनन् ।’ केही दिनभित्र चाडपर्व योजना सार्वजनिक गर्ने तयारी भइरहेको सिभिल मलका व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बताए । ‘हामी केही दिनभित्र दसैं योजना सार्वजनिक गर्ने तयारीमा छौं,’ उनले भने, ‘दसैं योजनामा ग्राहकले विभिन्न सामानको खरिदमा १० देखि ७० प्रतिशतसम्म छुट पाउनेछन् ।’ साथै योजनामा ग्राहकले लक्की ड्रअन्तर्गत यामाहाको बाइक र घरायसी सामान जित्न सक्ने योजना ल्याउने तयारी गरेको उनले जानकारी दिए ।
‘दसैं आउन लाग्दा पनि मलहरूको व्यापार राम्रो हुन सकेको छैन,’ उनले भने, ‘चाडपर्व विशेष स्किमले ग्राहक तान्ने भएकाले यसैको तयारी गरिरहेका छौं ।’ यसका साथै मलहरूले ग्राहकलाई सावधानी अपनाउन कोभिड–१९ को संक्रमणबाट जोगिन मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न विभिन्न सूचनासमेत टाँसेका छन्
अन्य समयको तुलनामा चाडपर्वका बेला ५० प्रतिशत व्यापार बढ्ने व्यापारीहरू बताउँछन् । यो वर्ष कोभिड–१९ को प्रभावले व्यापार खुम्चिने व्यवसायीको भनाइ छ । कोभिडको प्रभावले सीमित खर्च गर्न चाहने ग्राहक बढी भएकाले बजारमा गएको भन्दा चहलपहल कम भएको उनीहरूको भनाइ छ । खुद्रा पसलहरूमा व्यापार सुरु नभएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । कोरोनाका कारण धेरैको रोजगारीसमेत गुमेको उनको भनाइ छ । मानिसलाई कम खर्चमा चाडपर्व मनाउनुपर्ने बाध्यता छ । यस्तो समयमा पसल र मलहरूले ल्याउने सेलले ग्राहक आकर्षित गर्ने उनको भनाइ छ ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS