काठमाडौं, माघ २३ – ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड (GLHL) ले आज माघ २३ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओमा छिटोमा माघ २७ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरे फागुन ७ गतेसम्म म्याद थप गरिनेछ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ।
कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैया, जारी पूँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ।
सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै शेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड रुपेयाँ पुग्नेछ।
कम्पनीले दोलखाको खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीमा रन अफ रिभरमा आधारित ४० मेगावाटको खानीखोला १ जलविद्युत आयोजना निर्माण गर्दैछ।
कम्पनीले उक्त आयोजनाबाट २०७८ बैशाख देखि नै उर्जा उत्पादन हुने प्रक्षेपण गरेको छ। कम्पनीले बैशाख महिनाबाट २५ मेगावाट, साउनबाट थप १५ मेगावाट जडित क्षमताबाट उर्जा उत्पादन हुने जनाएको छ।
FACEBOOK COMMENTS