काठमाडौं, जेठ २ – वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बैंकिङ कारोबार घरबाटै गर्न अनुरोध गरेको छ । कोभिड १९ को दोस्रो लहर बढेको भन्दै संघले आइतवार एक विज्ञप्ति जारी गर्दै बैंकिङ कारोबार घरबाटै गर्न आग्रह गरेको हो । संघले मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने समेत स्मरण गराएको छ ।संघले भनेको छ,‘सामान खरिद गर्दाका वखत समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्नुहुन अनुरोध गर्दछौं ।’
ग्राहकहरुको सहजताको निमित्त यस निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण समेत सम्बन्धित बैंकलाई इमेल मार्फत अनुरोध गर्न सकिने संघले जनाएको छ । संघले भनेको छ, ‘कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नवीकरण गर्न सकिनेछ ।’बैंकिङ्ग कारोवार वा बैंकसंग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघको भनाइ छ ।
FACEBOOK COMMENTS