काठमाडौँ – नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् ।
महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरणमा रहेका बताए ।
विसं २०४७ मा सङ्घको रुपमा स्थापना भएको संस्था २०५३ सालमा महासङ्घ बनेको थियो । महासङ्घका ३५ हजार सदस्य रहेका छन् । महिला मात्रै ११ हजार छन् । उत्पादनमूलक सहकारी एशोसिएट सदस्य हुने व्यवस्था र १९ वस्तुगत सङ्घ रहेका जनाइएको छ ।
औद्योगिक व्यवसाय ऐन २०६३ अनुसार पाँच लाख पूँजी र नौ जना कामदार भएका तथा २० किलोवाट भन्दा कम विद्युत् खपत गर्ने उद्योग यसमा पर्छन् ।
घरेलु उद्योगमध्ये सेवामूलक उद्योगमा ४५ प्रतिशत रहेका कार्यकारी निर्देशक भट्टराईले बताए । ऊर्जा र सञ्चार क्षेत्रमा भने न्यून लगानी छ । सबैभन्दा बढी प्रदेश नं ३ मा ३७ प्रतिशत उद्योग सञ्चालनमा छन् । प्रदेश नं ५ मा १७, प्रदेश १ मा १४, प्रदेश ४ मा ९ सुदूरपश्चिममा ६ र गण्डकी प्रदेशमा ९ प्रतिशत उद्योग सञ्चलालनमा छन् ।
FACEBOOK COMMENTS