काठमाण्डौं– चण्डिराज ढकाल सार्क उवासंघको विधान संशोधन समितिको सभापति चयन भएका छन् ।
बंगलादेशको ढाकामा भैरहेको सार्क उद्योग वाणिज्य संघको ७५ औं कार्य समिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई संघको विधान संशोधन समितिको सभापतिमा चयन गरेको हो ।
संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउन संशोधन गर्न लागिएको बैठकमा जानकारी गराएको महासंघले जनाएको छ ।
विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा , संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर छन् । 
त्यसैगरी सार्क उवासंघका कार्य समिति सदस्य देश बन्धु बस्नेत (अजित) संघको मानव संशाधन समितिको सदस्यमा मनोनित भएका छन् ।

संबोधनका क्रममा ढकालले यस क्षेत्रको आर्थिक विकासमा मुख्य समस्या बन्दै गएको वातावरण परिवर्तनको चुनौतीलाई साझा समस्याको रूपमा संवोधन गर्नुपर्ने धारणा राखेका थिए । वातावरण परिवर्तनबाट देखापर्ने चुनौतीलाई संबोधन गर्दै आर्थिक विकास, लगानी आकर्षण, रोजगारी सृजना गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा साझा एजेण्डा तय गर्न उनले सुझाब दिए ।
