काठमाडौ- सरकारले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानलगायत वस्तु व्यापार गर्ने सरकारी निकायको सहभागितामा सहुलियत दरको पसल सञ्चालनमा ल्याइएको हो ।
रामशाहपथस्थित नेशनल ट्रेडिङ परिसरमा शनिबार सहुलियत मूल्य पसलको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुमा थोरै मात्रामा भए पनि सहुलियत प्रदान गर्न पसल सञ्चालनमा ल्याइएको बताए ।
विभिन्न बहानामा उपभोक्तालाई ठग्ने छुट कसैलाई नभएको बताउँदै उनले उपभोक्तालाई गुठी र उपभोग्य सामग्रीमा मिसावट गर्ने व्यापारीलाई कारवाही गर्न कानून निर्माण भइसकेको बताए ।
मुलुकभर ४७ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । त्यस्तै उपत्यकामा तीन वटा ‘मोबाइल भ्यान’ मार्फत पनि सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराइएको छ । आजदेखि सञ्चालन भएका सहुलियत मूल्य पसल आगामी कात्तिक २७ गतेसम्म चल्नेछन्।
रासस
FACEBOOK COMMENTS