काठमाडौं, कात्तिक २८ – कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि चितवन जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् । मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग सञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष यही समयमा उद्योगले चिम्नीमा इट्टा उत्पादन थालेका हुन्थे । यस वर्ष उद्योग सञ्चालकले मजदूर समेत ल्याएका छैनन् ।
इट्टा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यस वर्ष बन्द गरिएको जानकारी दिए । ‘चितवनसहित देशभरका उद्योग यस वर्ष चल्ने अवस्था छैन’ उनले भने, ‘तराई र भारतबाट मजदूर ल्याउनुपर्दछ तर अहिले ल्याउन सक्ने अवस्था छैन कसरी चलाउने ।’
उनका अनुसार जिल्लामा १८ ओटा इट्टा उद्योग छन् । देशभरमा यो संख्या एक हजार चार सय हाराहारी रहेको छ । स्थानीय मजदूर पाउने ठाउँका २० प्रतिशत जति उद्योग चले पनि अन्य उद्योग चल्ने सम्भावना नरहेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS