काठमाडौं, चैत २४ – तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको छ । सडक डिभिजन कार्यालय भरतपुरले दिएको जानकारी अनुसार पुलको ८० मिटर भाग भत्किएको हो । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो ।
इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको कार्यालयका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ । उनले प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ ।
पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । सो ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको हुनसक्ने उनको अनुमान छ । यस बारेमा थप अनुसन्धान भैरहेको अधिकारीले बताए ।
FACEBOOK COMMENTS