काठमाडौं– नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकको मिति तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला दुई देशबीच उर्जा सम्झौतामा हस्ताक्षर भएको थियो ।
नेपालका उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चीनका उर्जामन्त्री नुर बेक्रीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । समझदारीअनुसार दुवै देशले उर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमती भएको थियो । नेपालले उक्त सम्झौतालाअनुसार नै सात सदस्यिय संयन्त्र निर्माण गरेको छ । त्यसको सहअध्यक्षमा उर्जा सचिव अनुपकुमार उपाध्याय रहेका छन् ।
समितिमा उर्जा महाशाखा हेर्ने सह–सचिव, उर्जाकै कानुन हेर्ने सहसचिव,परराष्ट्रमन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव,विद्युत विकास विभागका महानिर्देशक,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र उर्जा मन्त्रालयकै सीडीई बावुराम अधिकारी सदस्य सचिव रहेका छन् । उर्जामन्त्री पुनले चीनसंग भएका सहमतीलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउन निर्देशन दिएपछि त्यसको मिति समेत तय भएको छ ।
नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमती जनाइसकेको छ । दुवै पक्षको सहमतीअनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्धिपक्षीय बैठक काठमाडौंमा टुंगो लागेको छ । चिनिया पक्षले बैठकमा सहभागीता जनाउनु अघि एजेण्डा पठाउन नेपाली पक्षसंग आग्रह गरेको छ । उर्जामन्त्री बर्षमान पुनसहित उर्जामन्त्रालयका उच्च अधिकारी सम्मेलित आईतबार बसेको बैठकले चीनलाई पठाउने एजेण्डा समेत तय गरिसकेको छ ।
FACEBOOK COMMENTS