काठमाडौं,फागुन १६ – सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा।युवराज खतिवडाले चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका छन् । गभर्नर नियुक्तिका लागि छनोट समिति गठन गर्न ढिला भएन भन्ने प्रश्नको जवाफमा सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका खतिवडाले चैत ५ गतेसम्ममा नियुक्ति गर्न भ्याइने जवाफ दिए । डा. खतिवडाले विसं २०७१ चैत ५ गते पाँचवर्षे कार्यकाल पूरा गरी आफू गभर्नरबाट बाहिरिने अन्तिम दिन मात्र सरकारले नयाँ गभर्नर नियुक्ति गरेको उदाहरण दिँदै भने, ‘म पनि १ महीनाअघि होइन, अन्तिम समयमै नियुक्त भएको थिएँ । हालका गभर्नरलाई पनि सरकारले चैत ५ गते दिन ३ बजेतिर मात्र नियुक्ति गरेको थियो । त्यसपछि मात्रै मैले गभर्नरको कार्यालय छाडेको थिएँ ।’ सामान्यतया गभर्नरको कार्यकाल सकिनु १ महीनाअगावै आगामी गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने प्रचलन छ ।
सरकारले नयाँ गभर्नरको नियुक्तिमा जति ढिलाइ गर्छ, त्यति नै दाबेदार व्यक्तिहरूको दौडधुप बढ्ने पूर्वगभर्नर गणेशबहादुर थापा बताउँछन् । गभर्नर नियुक्तिमा २० दिन मात्र बाँकी छ । यसबीच आधा दर्जन नाम सम्भावित गभर्नरका रूपमा बाहिर आएका छन् ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी, चार्टर एकाउन्टेन्ट ९सीए० तथा हाल राष्ट्र बैंकका सञ्चालक समितिमा सदस्य रहेका डा। सुबोधकुमार कर्णदेखि पूर्वअर्थसचिव राजन खनाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वसचिव लालशंकर घिमिरेको नाम चर्चामा छ ।
डेपुटी गभर्नर शिवाकोटीले आफ्नो पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट विमोचन गराएर आफू प्रधानमन्त्रीको नजीक रहेको देखाएको विश्लेषण गरिँदै छ ।
राष्ट्र बैंकको डेपुटी गभर्नर भइसकेका अधिकारी केन्द्रीय बैंकबारे जानकार भएकाले उनी गभर्नर बन्ने सम्भावना पनि व्यक्त गरिँदै छ । अर्थमन्त्री खतिवडासँग निकट मानिएका अधिकारीको लगानी बोर्डमा कार्यकाल पनि सकिने बेला भएको छ ।
त्यस्तै, कर्ण आफू विगत २७ वर्षदेखि अडिटरको काम गर्दै आएको र राष्ट्र बैंकको सञ्चालक समितिमा २ वर्ष काम गरिसकेकाले गभर्नरका लागि उपयुक्त भएको दाबी गर्छन् । ‘बैंक वित्तीय संस्थाबारे लामो अनुभव छ । केन्द्रीय बैंकको सञ्चालक भएर काम गर्दा वित्तीयजस्ता मुख्य समितिमा बसेर काम गरेको छु ।
यसबाहेक अन्तरराष्ट्रिय स्तरका वित्तीय संगठनको प्रतिनिधित्व समेत गरिसकेको अनुभव भएकाले गभर्नरका लागि काबिल छु ,’ उनले भने । अर्थमन्त्रीको २ वर्षे कार्यकालपछि फेरि अर्को कार्यकाल दोहोर्याउन प्रधानमन्त्री ओलीबाट ग्रीन सिग्नल पाएका डा। खतिवडाले आफ्नो अनुकूलको गभर्नर ल्याउन सक्ने टिप्पणी छ । यद्यपि नयाँ गभर्नर छनोटमा प्रधानमन्त्री ओली नै निर्णायक हुनेछन् । यसअघिको गर्भनर नियुक्तिमा पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हाबी भएका थिए । तत्कालीन अर्थमन्त्री डा।रामशरण महतको रोजाइमा नपरेका डा चिरञ्जीवी नेपाललाई कोइरालाकै जोडबलमा गभर्नर बनाइएको थियो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नरको नियुक्ति गर्नेछ । मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गर्नुपर्छ । जसमा पूर्वगभर्नरमध्येबाट एकजना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका प्रतिष्ठित व्यक्तिबाट एक जना सदस्य रहने गरी समितिको गठन हुन्छ ।
३ सदस्यीय समितिले आर्थिक, मौद्रिक, बैंक, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिश गर्नेछ । सिफारिश भएका नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्ने कानूनी व्यवस्था छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS