काठमाडौं -सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि संसदीय सुनुवाइ विशेष समितिले चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले प्रधान न्यायाधीशमा प्रस्तावित जबराको नाम अनुमोदन गरेको हो ।
जबरालाई मङ्सिर २७ गते बसेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
त्यसअघि न्याय परिषद्ले जबरा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । जोशी अघिल्लो पटक प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएका थिए ।
नियुक्तिदेखि नै विवादमा तानिएका जबराको नाममा ९ ओटा उजुरी संसदीय समितिमा परेका थिए ।
समितिको बैठकमा उनले आफूमाथि लागेका उजुरीहरुको जवाफ दिएका थिए । समितिमा जबराले १५ पृष्ठको कार्ययोजनासहितको अवधारणा पेश गरेका थिए । अवधारणामा संविधान कार्यान्वयनदेखि भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइनेसम्म उल्लेख छ ।
FACEBOOK COMMENTS