काठमाडौं, जेठ २७ – चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड निर्माण गरी आज बिहीबार हस्तान्तरण गरेका हो ।
चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमबीच कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्राडा जागेश्वर गौतमलाई आईसीयू वार्ड हस्तान्तरण गरेको बताएका छन् । वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा ९ वटा र दोस्रो तलामा ९ वटा शय्याको आईसीयू वार्ड निर्माण गरिएको उनको भनाइ छ ।
विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आईसीयू वार्ड निर्माण गरिएको छ । चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताए । कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई कसैले पनि बिर्सन नहुने चौधरीको भनाइ छ ।
कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्राडा गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पुर्याएको योगदानका लागि धन्यवाद दिए ।
चौधरी फाउण्डेसनले गत बर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पीसीआर रिएजेन्ट देखि पीपीई र स्वास्थ्य सामग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको थियो ।
वीर अस्पतालमै फाउण्डेशनले अक्सिजन प्लान्टको पनि निर्माण गरिरहेको छ । चौधरी फाउण्डेसनको समन्वय र नबिल बैंकको वित्तीय सहयोगमा अक्सिजन प्लान्ट स्थापना भइरहेको हो । आगामी केही दिनभित्रै उक्त अक्सिजन प्लान्ट पनि हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
FACEBOOK COMMENTS