काठमाडौं, चैत्र २१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने बताएका छन्।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि राजनीतिले कोल्टे फेरेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको लागि छलफल सुरु भएको जानकारी गराए।
कपिलवस्तुको तौलिहवामा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब बन्ने सरकारमा माओवादी केन्द्रले भूमिका खेल्ने उनले बताए।
प्रचण्डले आफू प्रधानमन्त्री बन्ने भन्दा पनि संविधानको रक्षाका लागि सक्रिय रहने बताए।
मधेशी जनताको आत्मसम्मानको अधिकारका लागि जनयुद्धदेखि अहिलेसम्म पार्टी सक्रिय रहेको चर्चा गर्दै उनले प्रधानमन्त्री ओली मधेशी जनताको अधिकार स्थापनाको विरोधी रहेको आरोप लगाए।
संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको समेत उनले बताए। आफू पनि संविधानमा पूर्ण समर्थन नभए पनि अहिलको संविधानमा धेरै महत्त्वपूर्ण विषय भएको अध्यक्ष दाहालको भनाइ छ।
‘संविधान पूर्ण छैन, मधेशी, दलित, महिला, जनजातीको अधिकारको विषय जति उल्लेख गरिनुपर्थ्यो, त्यति गरिएको छैन,’ उनले भने, ‘त्यसकारण मैले असहमति राख्दै जनतासँग मिलेर सबै वर्गको हितको विषय समेटेर अघि बढ्ने शर्तमा संविधान घोषणा गरिएको थियो।’
FACEBOOK COMMENTS