जम्मू एयरपोर्टको प्राविधिक क्षेत्रमा विस्फोट हुँदा भारतीय एयरफोर्सका दुई जवान सामान्य घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार त्यहाँ ५ मिनेटको अन्तरमा दुईवटा विस्फोट भएका थिए ।
पहिलो विस्फोट परिसरको भवनको छत तथा अर्को भवनको तल खुला क्षेत्रमा भएको थियो । स्रोतको हवाला दिँदै एएनआईले विस्फोटमा दुईवटा ड्रोनको प्रयोग गरिएको उल्लेख गरेको छ । कसले हमला गर्यो भन्ने पत्ता नलागे पनि विस्फोटको निसाना त्यहाँ राखिएको विमानलाई बनाइएको आशंका गरिएको छ ।
यो घटना शनिबार राति करिब १ बजेर ४५ मिनेट जाँदा भएको थियो । विस्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो । घटना भएको स्थानमा भारतीय वायुसेनाको स्टेसन हेडक्वार्टर पनि रहेको छ । वायुसेना, नौसेना र जम्मू–कश्मिरको प्रहरीले घटनास्थल पुगेर छानबिन गरेको थियो ।
यता, रक्षामन्त्री राजनाथ सिंहले हमलाबारे भाइस एयर चीफ एयर मार्सल एचएस अरोडासँग कुराकानी गरेका छन् । रक्षामन्त्री कार्यालयका अनुसार एयर मार्सल विक्रम सिंह स्थितिबारे जानकारी लिन जम्मू पुग्दैछन् ।
भारतीय वायु सेनाले विस्फोटबाट भवनको छतमा सामान्य क्षतिमात्र पुगेको जनाएको छ । कुनै पनि उपकरणमा कुनै प्रकारको क्षति नपुगेको उसको भनाइ छ ।
FACEBOOK COMMENTS