असार १७ -जाजरकोटमा ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्षको अनुकुल मौसमले समयमै रोपाइँ भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत वर्ष यही अवधीमा ४० प्रतिशत मात्र रोपाइँ भएको थियो । जाजरकोटमा तीन हजार सात सय ६३ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गर्ने गरिएको छ ।
खेतीयोग्य जमिनमध्ये दुई हजार ६ सय ३४ हेक्टर अर्थात ७० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । जिल्लाका कुदु, फेरा, मटेला, कालेगाँउ, होलुजिउला, दल्ली, मनघाट लगायतका स्थानमा धान खेती गर्ने गरिन्छ । जिल्लामा करीव ८ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । कुल खेती योग्य २५ हजार तीन सय ८० हेक्टर मध्य तीन हजार सात सय ६३ मेट्रिक टन क्षेत्रफलमा धान खेती गर्ने गरिन्छ । धेरैजसो किसानले रोपाई गरिसकेका छन् । बाँकी किसानले पनि यो महिनाको अन्त सम्म रोपाई गरेर सिध्याउने कृषि विकास कार्यालयको अनुमान छ ।
कार्यालय प्रमुख अधिकारीले भने खहरे खोला र मुल फुटेपछि रोपाई गर्न बाँकी जमिनमा मात्र रोपाई गर्न बाँकी छ । सिंचाई सुविधा भएका धेरैजसो ठाँउमा रोपाई भैसकेको छ । पहाडी भूभाग भएकोले समयमा धान रोप्दा उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।
FACEBOOK COMMENTS