काठमाडौं, कात्तिक २८ – धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा विगत १२ दिनदेखि आमरण अनशनमा बसेका दुई कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि आइसीयूमा भर्ना गरिएको छ।
कलेज परिसरमै कात्तिक १६ गते आइतवारदेखि अनशनमा बसेका कर्मचारीद्वय जानकी शरण यादव र कुलदीप साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले बुधवार प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा भर्ना गराएका थिए।
कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अस्पतालका दुई जना कर्मचारी कात्तिक १६ गतेदेखि आमरन अनशनमा बसेका थिए।
कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प गरेका छन्। उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैँ खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै विगत एक महिनादेखि धर्ना समेत दिएका थिए।
FACEBOOK COMMENTS