काठमाडौँ, कार्तिक ३ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना अनुरुप खाद्य कम्पनीले सोमबार बिहान ८.०० बजेदेखि बेलुका ४.३० बजेसम्म खसी बोका बिक्री गर्ने तालिका बनाएको हो । यस वर्ष कोभिडका कारणले खाद्यले भेडा/च्याङ्ग्रा भने ल्याएको छैन । आइतबारसम्म ४ सय ५ वटा खसी बोका आइपुगेको र भोलिदेखि बिक्री गर्ने कम्पनीका प्रवक्ता सर्मिला सुवेदीले बताइन् ।
‘सोमबारबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागिएको हो,’ उनले भनिन् ‘५५० रुपैयाँ प्रतिकेजीमा आम उपभोक्ताले खसी बोका पाउनु हुनेछ । अहिलेलाई हामीले चार सय पाँच वटा खसी बोका ल्याएका छौं, नपुग भएमा फेरि थप गर्ने छौं,’ सुवेदीले भनिन् । गत वर्ष कम्पनीले जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ नै तोकेको थियो ।
यस वर्ष ५६० रुपैयाँ प्रतिकेजी जिउँदो खसी बोकाको मूल्य भएपनि १० रुपैयाँ छुटमा दिन लागिएको हो । यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्रा भने बिक्री नगर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा खसी, बोकाको मूल्य निर्धारण गरिएको हो ।
FACEBOOK COMMENTS