काठमाण्डौँ — नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ अर्थात (जुन ६ देखि ९ सम्म) काठमाडौँमा हुने भएको छ ।
नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका ‘मार्ट’ आयोजना गर्न लागिएको आयोजक प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।
सन् २०१७ देखि हरेक वर्ष कार्यक्रम गर्दै आएको उक्त ‘मार्ट’ अन्तर्राष्ट्रियस्तरमा सशक्त ‘ब्राण्ड’को रुपमा विकास हुँदै गएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा पाटाले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।
‘मार्ट’को यसअघि सम्पन्न दुई संस्करणको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए ।
‘मार्ट’बाटै देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरणलगायत विश्वव्यापी पर्यटन एवं हस्पिट्यालिटी संघ–संस्था, कम्पनी र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आबद्ध व्यवसायी तथा व्यक्तित्वबीच व्यापार आदान प्रदान गराउने असीमित अवसर प्रदान गराउने विश्वास लिइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS