काठमाडौं, पुस १६ – नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको ‘तेस्रो नेपाल जेम एन्ड ज्वेलरी एक्स्पो–२०२०’ पुस २५ गतेदेखि हुने भएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । संघले एक्स्पोमा नेपालका करीब ४० ओटा ज्वेलर्स कम्पनीको सहभागिता रहने जनाएको छ ।
एक्स्पोको पहिलो दिन मौलिक गहनाको फेशन शो गरिनेछ । उक्त फेशन शोमा भारत लगायत मुलुकका कलाकार समेत नेपाली आभूषणमा प्रस्तुत हुनेछन् ।
एक्स्पोमा नेपाली मौलिक गहना निर्माण कलासँगै आधुनिक अवस्थासम्मको विकास र क्षमतालाई पनि प्रर्दशन गर्ने कार्यक्रम छ । साथै, नेपाली कालीगढमा रहेको मौलिक क्षमता, र प्रतिभाको प्रवर्द्धन गर्दै दोस्रो पुस्तामा शीप हस्तान्तरण गर्न प्रोत्साहन गर्ने आयोजकको भनाइ छ ।
एक्स्पोमा नेपालमा बनेका गरगहनाको प्रदर्शन गरिने संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन् ।
यस्तै, नेपाली गरगहनालाई अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सहयोग पुर्याउने एक्स्पोको लक्ष्य छ । एक्स्पोमा स्वदेशी बहुुमूल्य पत्थरलाई उत्खनन तथा प्रशोधन गरी बनाइने तथा बनाउन सकिने गरगहनाका निर्यात सम्भावनाबारे पनि छलफल गरिनेछ । यसरी गरगहना बनाएर विदेशी बजारमा निर्यात गर्न सकिएमा उच्चदरमा मूल्य अभिवृद्धि गर्न सकिने आयोजकको भनाइ छ ।
उक्त एक्स्पो काठमाडौंमा हुने आयोजकले बताएका छन् । साथै आयोजकले १० हजार भन्दा बढी व्यक्तिले एक्स्पो अवलोकन गर्ने विश्वास गरेको छ ।
FACEBOOK COMMENTS