काठमाडौं, २५ पौष – जोत्सना श्रेष्ठ नेपाल रत्न तथा आभूषण संघको सोह्रौँ वार्षिक साधारणसभाबाट पुन: अध्यक्षमा निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न साधारण सभाले उनलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन ।
संघको उद्घाटन वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेले गरेका थिए ।सो अवसरमा सभालाई सम्बोधन गर्दै ’समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने बताउँदै उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री आलेले बताए ।
उनले निजी क्षेत्रलाई आर्थिक समृद्धिको साझेदार मानेर हातेमालो गरी आर्थिक उन्नयनका निम्ति अघि बढ्न सरकार तयार रहेको पनि उल्लेख गरे । कार्यक्रम माझ वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आयात प्रतिस्थापनका लागि निर्यात प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र तदनुरुप काम भइरहेको बताए ।
साथै, सचिव अर्यालले एकै स्थानबाट निर्यातयोग्य सामग्रीको प्रवद्र्धन गर्न आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी समेत दिए । उनले गरगहना बनाउने कालिगढको व्यवस्था स्वदेशमै गर्न सरकारले आवश्यक बजेट विनियोजन गरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई आवश्यक निर्देशन दिइसकेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवटै तहका सरकारबाट उद्यमी व्यवसायीलाई सहयोग हुनुपर्नेमा जोड दिँदै सरकारी निकाय बीच समन्वय नहुँदा निजी क्षेत्रले कहिलेकाहीँ झञ्झट झेल्नुपरेको दुःखेसो गरे ।
उनले व्यावसायिक गतिविधि बढाउन तथा नीतिगत विषयमा सहजकर्ताको भूमिका निर्वाह गर्न एक सशक्त संयन्त्र निर्माणको खाँचो औँल्याए । त्यसैगरि, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोभिड–१९ पस्चात शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रलाई सघाउन आवश्यक रहेको औल्याउदै सरकारीस्तरबाट सहयोग नभएसम्म त्यो अपेक्षा पुरा हुन नसक्ने ठोकुवा गरे । साथै उनले उद्योग व्यवसाय क्षेत्रमा विकृतिका रुपमा रहेको ‘विचौलिया प्रवृत्ति’ अन्त्य गर्नुपर्नेमा जोड दिए । संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालले गत आर्थिक वर्षमा रु १० खर्ब ९९ अर्ब व्यापार घाटा व्यहोरेको उल्लेख गर्दै वर्षको पहिलो पाँच महिनामा रु चार खर्ब ७५ अर्बको व्यापार घाटा भइसकेको सन्दर्भमा निर्यात प्रवद्र्धनको महत्वबोध गर्नुपर्ने आशय व्यक्त गरिन ।
निजी क्षेत्रका उद्यमी व्यवसायीलाई सरकारले सघाउनुपर्नेमा जोड दिदै उनले ८० प्रतिशतभन्दा बढी विदेशी कामदार रत्न तथा आभूषण व्यवसायमा रहेकाले स्वदेशी नागरिकलाई सीपमूलक तालीम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने दायित्वबाट सरकार विमुख भैरहेको प्रसङ् कोटयाउदै दक्ष जनशक्ती उत्पादनमा सघाउन आग्रह गरिन् ।
त्यसैगरि, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले रत्न तथा आभूषण संघले व्यहोर्दै आएका प्राविधिक समस्या समाधान गर्न विभागले सहजीकरण गर्ने बताए । साथै, उनले दिगो आर्थिक विकासका लागि मात्र नभई नेपाली कला र सीपलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन संघले योगदान दिदै आएको धारणा राखेका थिए ।
FACEBOOK COMMENTS