काठमाडौं, मंसिर १६ – टुटल र पठाओजस्तै सेवा दिने नयाँ एप्लिकेसन सञ्चालनमा आएको छ । एटेन्ड प्रा.लि.ले आइतबारदेखि देशभरको कार्यक्षेत्र र बृहत् प्रकारको सेवासहित आइतबार सो एप्लिकेसनको सुरुवात गरेको हो । सो कम्पनीले ल्याएको एप्लिकेसनमा मोटरसाइकल, ट्याक्सी, कार, जीप, स्वास्थ्य सेवा, एम्बुलेन्स तथा अन्य विभिन्न प्याकेजका सेवाहरु राखिएका छन् । यो एप्लिकेसनले सबै प्रकारका सेवालाई एउटै प्लेटफर्मबाट प्राप्त गर्नसक्ने विश्वास गरेको अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए ।
२०७२ सालको नाकाबन्दीताका इन्धन अभावको समयमा फैलिएको ‘लिफ्टिङ कल्चर’लाई व्यवसायिकता दिन विभिन्न प्रकारका एप्लिकेसनको सञ्चालनमा आएको थियो । त्यो बेलाको राष्ट्रिय संकटबाट सिर्जित अवस्थालाई ती एप्लिकेसनहरुले सदुपयोग गरेका थिए । अहिले कोभिड–१९ को विश्वव्यापी संकट व्याप्त छ ।
योबेला भीडभाड कम गर्ने र आवागमनलाई सुरक्षित र भरपर्दो बनाउनुपर्ने चुनौती थपिएको समयमा स्वास्थ्य सेवादेखि सबै प्रकारका यात्रा र ढुवानीसम्बन्धी सेवाहरुलाई एकीकृत गर्दै सो एप सञ्चालनमा ल्याइएको हो । यो एप्लिकेसनले कोभिड–१९ बाट सिर्जित विषम अबस्थाले माग गरेका सबै समस्यामा सहजीकरण गर्ने विश्वास आफूहरुले लिएको अध्यक्ष भण्डारीको भनाई छ ।
यस्तो छ विशेषता
सो कम्पनीले ‘एटेन्ड’ अन्तर्गत दुईवटा एप्लिकेसन बजारमा ल्याएको छ, ‘एटेन्ड एप’ र ‘एटेन्ड ड्राइभर’ । एन्ड्रोइड तथा आईओएस फिचर भएका मोबाइल मा गएर यो एप्लिकेसनलाई डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।
पहिलो एप्लिकेसन प्रयोगकर्ताको लागि हो । दोस्रो चाहिँ ड्राइभर वा यसअन्तर्गत सेवा दिने व्यक्ति तथा संस्थाको लागि हो । आफ्नो आवश्यकता अनुसार व्यक्तिले जुनसुकै वा दुईवटै एप्लिकेसन डाउनलोड गर्न सक्नेछन् । आवश्यकता अनुसार आफ्नो विवरण भरेपछि सबै सो प्लेटफर्ममा उपलब्ध भएका सबै सेवाहरु प्राप्त गर्नसक्ने व्यवस्था छ ।
‘एटेन्ड’ आफैंमा बृहत् क्षमता र लक्ष्य लिएर आएको छ । यसले काठमाडौं उपत्यका वा शहरी इलाकालाई मात्रै समेटेको छैन, इन्टरनेट सेवा भएका देशका जुनसुकै स्थानमा समेत सेवा दिनसक्ने अध्यक्ष भण्डारीको भनाई छ । ‘तपाइँ झापाबाट इटहरी जान पनि बुकिङ गर्न सक्नुहुन्छ, काठमाडौं आउन पनि बुकिङ गर्न सक्नुहुन्छ, यसको कुनै कार्यक्षेत्र र सीमा छैन ।’
यसले बृहत् कार्यक्षेत्र र सेवालाई समेटेको मात्रै होइन, अहिले सीमित रुपमा सञ्चालन हुँदै आएका सेवाहरुमा देखिएका विभिन्न समस्या समाधान गरेको छ । बजारमा सञ्चालन भएका अन्य एप्लिकेसनमा बुकिङका लागि कुनै फिचर छैन, ‘एटेन्ड’ले तत्कालैदेखि भविष्यका लागि बुकिङ गर्नसक्ने व्यवस्था गरिदिएको छ ।
त्यसो त, यो यात्रुको लागि मात्रै नभएर ढुवानी सेवाको लागि पनि उपयोगी हुने विश्वास गरिएको छ । कसैलाई कहिँ पुग्न पर्यो भने मात्रै होइन, कसैलाई केही चाहियो भने पनि यहीँ अर्डर गर्न सकिन्छ । दैनिक उपभोग्य सामान, औषधि, लत्ताकपडा, फर्निचर लगायतका उपभोग्य बस्तुहरु यसैबाट अर्डर गराउन सकिन्छ । भविष्यमा व्यवसायिक वा औद्योगिक कारोबारका लागि समेत साझा प्लेटफर्म बनाउने लक्ष्य यो कम्पनीले लिएको छ ।
त्यसो त, अत्यावश्यक सेवा मानिने एम्बुलेन्स, शवबाहन, पुलिस, दमकल जस्ता अत्यावश्यक सेवाको फिचर समेत यसमा राखिएको छ । कोही व्यक्ति इमर्जेन्सीमा पर्यो भने इमर्जेन्सी बटम थिच्नेबित्तिकै तत्कालै नजिकको प्रहरी तथा परिवारका सदस्यकहाँ टेलिफोन र एसएमएस जाने व्यवस्था समेत मिलाइएको छ । उता देशभर रहेका एम्बुलेन्स तथा शववाहन सेवालाई समेटेर छिटो सेवा उपलब्ध हुने व्यवस्था समेत गरिएको छ । एम्बुलेन्स तथा शवबाहन सेवाका लागि एप्लिकेसन प्रयोगको लागि कुनै शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ । सो कम्पनीले यसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समेटेको छ ।
सम्भावित समस्या समाधानको प्रयास
अहिले सञ्चालनमा भएका एप्लिकेसनको समस्या सानो कार्यक्षेत्र र सीमित सेवा मात्रै होइन, अरु पनि विविध समस्याहरु छन् । उदाहरणका लागि अहिले पनि प्रयोगकर्ताहरुले अनलाइन माध्यमबाट भुक्तानी गर्नसक्ने व्यवस्था छैन । तर, यो एप्लिकेसन प्रयोग गरेर सबै बैंकका सबै प्रकारका कार्डबाट भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ । यसमा भुक्तानी प्रणालीलाई सुरक्षित बनाउने आवश्यक फिचर समेत जोडिएको छ ।
अहिले देखिएको अर्को समस्या भनेको बीमाको हो । कुनै व्यक्तिलाई सेवा दिँदैगर्दा दुर्घटना भयो भने त्यो अवस्थामा त्यसको जिम्मेवार को हुने ? यो लामो समयदेखि देखिँदै आएको समस्या हो । तर, यो एप्लिकेसनमा रजिष्टर्ड हुने सबै ढुवानी साधनको तेस्रो पक्ष बीमा यही कम्पनीले गरिदिने महत्वाकांक्षी लक्ष्य समेत लिएको छ । सो कम्पनीका अध्यक्ष ढकाल भन्छन्, ‘मोटरसाइकल होस्, ट्याक्सी होस्, कार होस्, जीप होस् वा अरु जुनसुकै साधनको पनि तेस्रो पक्ष बीमाको जिम्मा हामी लिन्छौं ।’
र अन्त्यमा : सस्तो शुल्क
यो एप्लिकेसन प्रयोग गर्ने प्रयोगकर्ता वा सेवा प्रदायकको लागत बजारमा सञ्चालन भइरहेका अरु सेवाभन्दा निकै सस्तो छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क गरिएका सेवाहरु बाहेक अरु सबै प्रकारका सेवामा हालका लागि १० प्रतिशत मात्रै कमिसन लिने व्यवस्था गरिएको छ । सेवाको प्रकृति अनुसार यसलाई अझै सापेक्ष बनाउँदै लैजाने समेत कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS