अन्जनराज न्यौपाने/मदन तिमल्सेना
तनहुँ , भदौ १७ – गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यातायात चालक , सह चालकहरुलाई आफ्नो आचरण र व्यवस्थापनको लागि नयाँ तौरतरिका प्रयोगमा ल्याएको छ । ट्राफिक प्रहरीले गर्ने चेकजाँचका क्रममा आदर, सत्कार सहितको सेवा सुरु गरेको हो । गाडी रोकेर चालकलाई नमस्कार गरि नम्र बोलेर गाडि चेक जाँच गर्ने गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बोली र व्यवहारमा शुद्धता ल्याउनको लागि सप्ताह ब्यापी कार्यक्रम शुरु गरेको जनाएको छ ।
त्यसो त ट्राफिक प्रहरीले नमस्कार गरेपछि धेरै चालकहरु अलमल परेका थिए । ट्राफिक प्रहरीले यस्तो किसिमको व्यवहार देखाउदा निकै खुशी लागेको चालकहरुको भनाई राखेका छन् । पृथ्वीराज मार्गको विभिन्न स्थानहरुमा सवारी साधन चेकजाँच गरिएको हो । मंगलबार भएको उक्त चेकजाँच कार्यक्रममा जिल्लाको प्रवेशद्वार आँबुखैरेनी देखि कोत्रे सम्म आवतजावत गर्ने विभिन्न सवारीसाधन चालकहरुलाई परामर्श समेत दिईएको थियो ।
सवारी चालक र यात्रुहरु सुरक्षित हुन भन्ने उद्देश्यले विभिन्न खाले मोटरसाइकलहरु,कार जिप,भ्यान ,ट्रक, पर्यटकका सवारीसाधन ,पुट्पुटे ट्याक्टर जस्ता सवारीसाधनका सवारी चालकहरुलाई चेकजाँच गरि सम्झाई बुझाई पठाईएको थियो भने चेकजाँचका क्रममा ५४ सवारीसाधनहरु कारबाहीमा परेका थिए।
तनहुँ जिल्ला ट्राफिक कार्यालयका प्रमुख रेशम बहादुर रानाभाटले यो शिस्टाचार किन भन्ने बारेमा प्रस्ट पार्दै भने ‘हामी ट्राफिकहरुले राम्रो व्यवहार गर्यौ भने अरुले पनि हामीलाई राम्रो व्यवहार गर्छन्, आफुले जस्तो व्यवहार गर्यो अरुले पनि उस्तै व्यवहार गर्ने न हुन’। उनले यात्रामा रहेका यात्रुहरू र सवारी चालकहरु कोरना संक्रमणका विषयमा सजग र सतर्क होउन् भन्ने उद्देश्यका साथ यस्तो प्रक्रिया सुरु गरिएको जानकारी समेत दिए।
FACEBOOK COMMENTS