काठमाडौं, भदौ २२ – नेपाल मेडिकल काउन्सिलले चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। काउन्सिलले शनिबार लिएको परीक्षाको नतिजा आइतबार राती प्रकाशित गरेको हो।
परीक्षामा ४६ प्रतिशत उत्तिर्ण भएका छन्। यसपटक उपत्यका बाहिर र भित्र गरी १७ स्थानमा परीक्षा भएको थियो। परीक्षाका लागि ७९३ जना एमबिबिएस र २६७ जनाले बिडिएसमा गरी एक हजार ६० जनाले फारम भरेका थिए।
काउन्सिलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान नर्सिङ भवन र अडिटोरियम भवनमा, काठमाडौं मेडिकल कलेज बेसिक साइन्स भवन दुवाकोट, महाराजगञ्ज मेडिकल क्याम्पस पहेंलो भवन र महाराजगञ्ज नर्सिङ क्याम्पस, बुढानिलकण्ठ स्कुल भोकेशनल ब्लक र साइन्स ब्लकमा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराट मेडिकल कलेज विराटनगर, लाहान प्राविधिक शिक्षालय लहान, जानकी मेडिकल कलेज जनकपुर, नेशनल मेडिकल कलेज वीरगञ्ज, देवदह मेडिकल कलेज बुटवल, कलेज अफ मेडिकल साइन्सेस भरतपुर, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र मणिपाल कलेज अफ मेडिकल साइन्सेस पोखरामा परीक्षा केन्द्र तोकिएको थियो।
यसअघि काउन्सिलले लिने भनेको लाइसेन्स परीक्षा लकडाउनका कारण प्रभावित भएको थियो। यही भदौ ७ गतेदेखि लाइसेन्स परीक्षा लिने भनिए पनि अवस्था सामान्य नभएको भन्दै काउन्सिलले उक्त परीक्षा स्थगित गरेको थियो। यसअघि चैत ८ गते तय भएको परीक्षा पनि स्थगित भएको थियो।
FACEBOOK COMMENTS