वासिङटन– संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ ।
केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् ।
चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलब ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारका सङ्केत देखिएको छ । अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ । अघिल्लो वर्षको तुलनामा प्रति घण्टाको औसत भुक्तानीमा ३ दशमलब २ प्रतिशतले सुधार आएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रोजगारी वृद्धिलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । रासस
FACEBOOK COMMENTS