काठमाडौं, माघ ६- प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा मूल्यवृद्धि लक्ष्यभन्दा बढी अर्थात् ६ दशमलव ५५ प्रतिशत पुगेको छ । चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्याउने सरकारको लक्ष्य थियो । तर, मंसीरसम्म आउँदा मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९ दशमलव ७६ प्रतिशतले बढेको छ । यस समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडीमा मूल्य वृद्धि उच्च रहेको केन्द्रीय बैंकले बताएको छ ।
तरकारीमा मात्रै ४० प्रतिशतले मूल्य बढेका कारण समग्र मूल्य वृद्धिमा चाप परेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । साथै, भारतको मूल्य वृद्धि बढेका कारण नेपालमा महँगी बढेको उनको तर्क छ । भारतले चालू आवमा मूल्य वृद्धिको सीमा ४ प्रतिशत राखेको थियो । तर, भारतमा मूल्य वृद्धि ७ दशमलव ३५ प्रतिशत पुगेको छ ।
‘भारत सरकारले आफ्नो देशको मुद्रास्फीतिको सीमा ४ प्रतिशत राखेको थियो । त्यसको तल्लो सीमा २ प्रतिशत र माथिल्लो सीमा ६ प्रतिशत राखेको थियो,’ भट्टले भने, ‘तर अहिले भारतको मूल्य वृद्धि सीमा नाघेर नेपालको भन्दा माथि पुगेको छ । त्यसको असर नेपालमा समेत देखिएको हो ।’
त्यस्तै, नेपालमा गैरखाद्य तथा सेवासमूहको मूल्य वृद्धि ४ दशमलव १० प्रतिशत रहेको छ । यस समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरूको मूल्य बढेको छ । क्षेत्रगत आधारमा काठमाडौंमा मूल्य वृद्धि सबैभन्दा उच्च ७ दशमलव ६० प्रतिशत रहेको छ ।
चालू आवको भदौ, असोज र कात्तिकमा लगातार घटेको विप्रेषण आप्रवाहमा अहिले झीनो सुधार देखिएको छ । मंसीरसम्म आइपुग्दा विप्रेषण आप्रवाह शून्य दशमलव १ प्रतिशतले बढेको छ ।
केन्द्रीय बैंकका अनुसार चालू आवको पहिलो ५ महीनामा रू। ३ खर्ब ७६ अर्ब ९९ करोड विप्रेषण नेपाल भित्रिएको छ । राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार पछिल्लो समय मलेशिया जाने कामदारको संख्या बढ्न थालेपछि विप्रेषण आप्रवाहमा सुधार आउन थालेको हो । ‘गत आवको ५ महीनामा मलेशिया जाने कामदार २५ सय ३२ जना मात्र थिए । तर, अहिले त्यो मात्रा १५ हजार ९५२ जना पुगेको छ,’ उनले भने । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS