बसन्त अर्याल
‘हजुरलाई नमस्ते’ अरुलाई सम्मान गर्ने प्रयोग गर्ने शब्द हो । भेटघाट हुँदा सम्मानपुर्वक समझदारी कायम गर्न नमस्ते गरिन्छ । सम्मान गरिने शब्दले कसैको जीवननै परिवर्तन गर्छ । ‘हजुरलाई नमस्ते’ कसैको लागि ब्राण्ड बनेको छ । मूलमन्त्रनै बनेको छ । ताराबहादुर कुँवर, जो कुनै समय टेम्पोचालक थिए । अहिले उनलाई हजुरलाई नमस्ते ब्राण्डले चिनिन्छ ।
२०४६ सालको जनआन्दोलनमा टेम्पो चलाउँदा ‘हजुरलाई नमस्ते’ वाक्यले नै उनको टेम्पो जल्नबाट बँचेको थियो । जब आन्दोलनकारीलाई हजुरलाई नमस्ते लेखिएकोले वाक्यले टेम्पो जलाउन रोक्यो, तब ताराबहादुरले यसले मूल मन्त्र बनाए । उनको मूल मन्त्रनै आजसम्मको कर्म यात्रा चलिरहेको छ ।
ताराबहादुर कुँवर एक राष्ट्रभक्त, समाजसेवी हुनुका साथै उनी सफल व्यवसायी हुन् । राष्ट्रको मायाले ओत्रप्रोत उनको मन कहिल्यै कसैप्रति इष्र्याले भरिएन । सधैं सम्पूर्णको भलो चाहने उनी अचेल व्यवसायिक कर्म बाहेक सामाजिक कार्य गर्दा खुसी हुन्छन् । काठमाडौंको चक्रपथ सरसफाईका अभियान्ता हुन ताराबहादुर । २०७१ सालमा शुरु गरेको सरसफाई अभियान निरन्तर चलिरहेको छ । उनले २०७१ सालमा आफ्नै कार्यलयका कर्मचारीबाट शुरु गरेको सरसफाई अभियान अहिले सरकारकै अभियान बनेको छ । नेपाली सेना, शसस्त्र प्रहरी, विभिन्न संघ संस्थाहरुले उनको यो सरसफाई अभियानमा साथ दिइरहेका छन् । हरेका हप्ता १५ देखी २० हजारसम्मको खर्च व्यहोर्ने गरेको उनी बताउँछन् । ‘कुनै हप्ता केही संस्था वा व्यक्तिले सहयोग गरे होलान् तर सरसफाईको लगि चाहिने साम्रगी सहयोग गर्दै आएको छु।’
ठूलो हृदय भएका कुँवर भुकम्पको बेला आफूसंग भएका डोजर चलाएर धेरैको ज्यान बचाए । उनी आफंै पनि घाइते भए तर आफ्ना डोजर धेरैको ज्यान बचाउन प्रयोग गरे । नी यो प्रशंसनीय कार्यका लागि तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालबाट सम्मानित भए । सामाजिक कार्य गरेकोमा उनी उपराष्ट्रिपतिबाट पनि सम्मानित भएका छन् ।
२०२२ सालमा काभ्रेको चौवासमा जन्मिएका उनी धेरै संघर्षपछि यहाँ पुगेका हुन् । कुनैदिन काठमाण्डौमा टेम्पो गुडाउने कुँवर अहिले एक्जाभेटर, लोडर, टेलर, ट्रक र क्रेन छन् । हेभी इक्यिुपमेन्ट व्यवसायी संघका संस्थापक अध्यक्ष उनी हाल हेभी इक्विपमेन्ट महासंघका केन्द्रय अध्यक्ष हुन् ।
उनी मिटर टेम्पो, विक्रम टेम्पो हुँदै मिनीट्रक, एल्पी ट्रक, टिपरबाट हेभी इक्युपमेन्टको व्यवसायमा प्रवेश गरेका हुन् । ठूला घराना व्यवसायको विगविगी रहेको नेपालमा जो त्यो व्यवसायीलाई बजारमा फस्टाउन त्यती सजिलो थिएन । उनको अनुभवमा नेपालीहरु पनि त्यसको मात्र विश्वास गर्छन्, जोसंग पैसा धेरै छ । ‘मैले हेभी इक्वीपमेन्टको व्यवसाय शुरु गर्दा कसैले विश्वास गरेन । जो खानदानी व्यवसायी हो । उसको सबैले विश्वास गर्थे । मैले अरुको भन्दा राम्रो गुणस्तरको समान विक्री गर्दा पनि मलाई दुःख गरेर हिजो आएको मान्छे भनेर विश्वास गरेनन्,’ उनी भन्छन् । उनको लगातारको मेहनतले अहिले सवैको विश्वास जितेका छन् ।
नेपाल राष्ट्रलाई माया गर्ने उनी सरकारी कर्मचारीको व्यवहार प्रति असन्तुष्ट छन् । नेपाल राष्ट्र बनाउने कर्मचारीनै भ्रष्टचारमा लिप्त भएको पटक्कै मन परेको छैन । नेपालको विकास नहुनुको मुख्यकारण मध्ये एउटा कारण कर्मचारीतन्त्र रहेको दाबी गर्छन् । ‘जबसम्म भ्रष्ट कर्मचारीलाई कडा सजायँ दिइदैन, तबसम्म देश बन्दैन,’ भन्दै रोष व्यक्त गर्छन् । कुनै पनि गाडी चलाउन लाइसेन्स चाहिन्छ । तर नेपालमा लाइसेन्स निकाल्न पनि कर्मचारीलाई घुस खुवानुपर्ने देख्दा नेपाल सतिले सरापेकै देश जस्तो लाग्छ उनलाई । उनले भने, ‘हेभी इक्वीपमेन्टको लाइसेन्स निकाल्न महाभारत छ । पहिलो त कुनै सिटीभिटीबाट मान्यता प्रप्त संस्थाबाट ट्रेनिङ गरेको पत्र ल्याउनुपर्छ । सबै प्रक्रिया पुरा ग¥यो कर्मचारीले यो भएन त्यो भएन भन्छन् । तर जब पैसा दियो सबै हुन्छ । प्रक्रिया पुगेको थिएन भने घुस दिएपछि कसरी काम हुन्छ । कर्मचारी सिधै घुस माग्न पनि डराउँछ तर घुस नदिए कामनै हुँदैन कसरी देश बन्छ ?’
नेपालमा कुनैपनि काम गर्न जनशक्ति अभाव हुने गरेको उनको भनाई छ । अझ दक्ष जनशक्ति त पाउन गाह्रो नै छ । हेभी इक्युपमेन्ट मेशिन हो, जो पढेलेखेको छ उसले चलाउँदैन तर थोरै पढको छैन उसैलाई चलाउन दिनुपर्ने बाध्यता छ । चलाउन दियो ज्ञान हुँदैन अनि छिटै मेशिन ब्रिगने गरेका छन् । दक्ष जनशक्ति अभावमा उनका तीन स्काभेटर थन्किएको बताउँछन् । केहि युवालाई सिकायो त्यसपछि विदेश जान्छ, बेरोजगार भएको देशमा जनशक्ति पाउनै मुश्किल हुने गरेको उनको अनुभव छ ।
कुँवरले हेभी इक्वीपमेन्ट क्षेत्रको नेतृत्व गर्दा सरकारसंग मेशिन ल्याउन भन्सार छुटको लागि धेरै लडे । अहिले सरकारले जम्मा ४ प्रतिशतमात्र भन्सार शुल्क लगाउँछ । यसकार नेपालमा यति धेरै मेशिन भएकी जता गयो त्यतै देखिन्छ । पहिला व्यस्त हुने मेशिन अचेल धेरै भित्रँदा कामविहिन अवस्थामा पुगेको प्रति चिन्ता छ । नेपालको विकासको लागि मेशिन आवश्यक छ, त्यसमा सरकार अनुदार हुनुपर्छ भन्दै धेरै लडे । तर अब केही समयको लागि अनावश्यक मेशिन भित्राएर व्यापार घाटा बढाउने पक्षमा उनी छैनन् । सरकारले भन्सार छुट दिँदा धेरै मेशिन भित्रिए तर अहिले सिजनको बेला पनि मेशिन कामविहीन हुँदा दुःख लाग्छ । संसद, मन्त्री, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष पनि डोजरका मालिक भए । उनको विचारमा अब केही समय अत्याधिक आयात भएका मेशिन रोक्ने जुन आवश्यक छ, त्यो मात्र आयत गर्ने पर्ने बताउँछन् । नेपालको विदेशी विनिमय भण्डारण कम भएको बेलामा यस्तो आयतमा रोके नेपालको हितमा नै हुने उनको कथन छ ।
कुँवर हेभी इक्वीप्पमेन्ट, तिनका पार्ट पुर्जा बाहेक लुब्रिकेन्टका व्यवसायी हुन् । विदेशबाट आयत गरि नेपालमा बिक्री गर्दै आएका छन् । तर नेपालीहरुले गुणस्तरमा भन्दा सस्तोमा ध्यान नदिएको प्रति चित्त बुझ्दैन । ‘हामी नेपालीहरु २० वर्ष चल्ने बाइक राम्ररी मेनटेन गर्न नसक्दा ३ लाखमा किनेको बाइक ३ वर्ष ५० हजारमा बिक्री गर्छौं । बाइकलाई कसरी मेनटेन गर्ने भन्नेमा कसैले ध्यान दिँदैन । कुनै बाइक मिस्त्रीलाई आफ्नो बाइकको सर्भिसिङ गर्ने जिम्मा दिएर हिँड्छौ । त्यसमा कस्तो पार्टस् , कस्तो लुब्रिकेन्ट हाल्ने भन्दैनां । मिस्त्रीलाई जुन राख्दा फाइदा हुन्छ , यही राख्छ । २० वर्ष आयु भएको १० वर्ष पनि टिक्दैन,’ उनी भन्छन् ।
लामो संघर्षपछि उनलाई अहिले धेरैले सफल व्यवसायी भन्छन् । उनले आफ्नो जिवन संघर्ष कसैलाई पे्ररणा बनोस भनेर ‘हजुरलाई नमस्ते’ नामक पुस्तकनै प्रकाशित गरेका छन् ।
FACEBOOK COMMENTS