काठमाडौं, मंसिर ९ – दाङको तुलसीपुरमा भेन्टिलेटर सहित आइसियु सेवा सञ्चालन हुने भएको छ। राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी भवन निर्माणको काम अगाडि बढाइएको हो।
योजना शाखा प्रमुख टेकबहादुर खड्काका अनुसार उपमहानगरपालिकाले भवन निर्माणका लागि ३५ लाख ६२ हजारको टेन्डर प्रक्रिया अगाडि बढाएको छ। उपमहानगरपालिकाले भवन निर्माण गरिदिने र प्रदेश सरकारले उपकरण सहयोग गरेपछि सेवा सुचारु हुने अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए।
तुलसीपुरमा आइसियु सेवा सञ्चालन नहुँदा यहाँबाट धेरै बिरामीहरु रेफर हुने गरेका छन्। तत्काल आइसियु सेवा सञ्चालन होस भन्नका लागि नगरस्तरीय बजेटबाट भवन निर्माणको काम अगाडि बढाइएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।
उनले अस्पतालको सेवा सुधारका लागि जस्तोसुकै सहयोग गर्न पनि स्थानीय सरकार तत्पर भएको बताए। तुलसीपुरलाई स्वास्थ्य सेवाको केन्द्र बनाउनका लागि आफूहरु निरन्तर लागेको पनि उनको भनाइ छ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका र राप्ती प्रादेशिक अस्पतालका बीचमा भवन निर्माणको सम्झौता भएको छ।
FACEBOOK COMMENTS