काठमाडौँ, फागुन २४ – तेजाब आक्रमणबाट पीडित जनकपुरकी आरती साहलाई प्रदेश सरकारले सम्मान गरेको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार प्रदेश २ सरकारले आयोजना गरेको एक कार्यक्रमका बीच एसिड पीडित साहलाई मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
आरतीमाथि उनका श्रीमान् सञ्जीव साहले कात्तिक २९ गते लक्ष्मीपूजाका दिन जनकपुरधाम उपमहानगरपालिका ७ स्थित ससुरालीमा गएर एसिड प्रहार गरेका थिए ।
प्रहरीले एसिड प्रहार गर्ने आरतीका श्रीमान् र एसिड व्यापारीलाई पक्राउ गरिसकेको छ । हाल सो मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ । एसिड प्रहार गर्ने सञ्जीव साहलाई १५ वर्ष ६ महिना जेल सजायको माग गरिएको छ ।
आफ्नी पत्नी आरतीमाथि एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी जम्मा १५ वर्ष ६ महिना कैदसहितको अभियोग सञ्जीवविरुद्ध दर्ता गराइएको सरकारी वकिल कार्यालय धनुषाका न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए । मुद्दामा उपचार खर्च र क्षतिपूर्तिसमेत माग गरिएको छ ।
एसिड आक्रमणबाट पीडित आरतीले एसिड प्रहार गर्ने तथा बेच्ने दुवैलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरेकी छन् । उनले मेरो श्रीमानकै कारण मात्र नभई एसिड बिक्री गर्ने व्यापारीका कारण समेत यस्तो अवस्था भएको बताइन् । आरतीले बिना लाइसेन्स व्यापारीले एसिड बिक्री गरिरहेकाले एसिड फाल्ने घटना बढिरहेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
FACEBOOK COMMENTS