काठमाडौं, पुस १८ – नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षभन्दा १.५ प्रतिशत तलब बढाएर यस वर्ष कामदारले प्रतिघण्टाको ८ हजार ७ सय २० वन पाउने भएका छन् । ।
दैनिक ८ घण्टाको दरले हप्ताको ४० घण्टा काम गर्ने कामदारको न्यूनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन (झन्डै १ लाख ८२ हजार) रुपैयाँ हुनेछ । साथै कामदारहरुले ८ घण्टाभन्दा बढि काम गरेमा ‘ओभरटाइम’ र सार्वजानिक बिदाहरुमा काम गरे प्रतिघण्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन् । त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता पनि पाउने छन् ।
तलब निर्धारण समितिले गत वर्षको तलबमा २.१ प्रतिशत कटौती गरेर ८ हजार ४ सय १० वन बनाउने माग राखेको थिए भने कामदार पक्षले १६.४ प्रतिशत वृद्धि गरेर १० हजार वन बनाउन माग राखेका थिए । समितिमा कामदार, व्यवसायी र सरकारी पक्षको ९र९ जना सदस्य रहने व्यवस्था छ ।
दक्षिण कोरियामा रहेका ४० लाख कामदारसँगै ३५ हजार भन्दा बढी नेपाली कामदार पनि वृद्धि भएको तलबबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
सन् २०१८ मा १६.४ र सन् २०१९ मा ११ प्रतिशत तलब बढाएको थियो । साना तथा मझौला व्यवसायीले व्यापक विरोध गरेपछि गत वर्ष २.९ प्रतिशत तलब बढेको थियो ।
FACEBOOK COMMENTS