काठमाडौं, चैत २ –नेपालमा नै बसेर जापानिज खानाको स्वाद लिन चाहने खाना पारखीका लागि दरबारमार्गमा माचुरी टोकियो रेस्टुरेन्ट सञ्चालनमा आएको छ। रेस्टुरेन्ट आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो।
कोभिडकाबीच पनि करिब १ करोडको लगानीमा रेस्टुरेन्टमा सञ्चालनमा ल्याइएको हो। माचुरी भनेको जापानिज भाषामा फेस्टिबल (पर्व) हो। रेस्टुरेन्ट सञ्चालक प्रकाश घिमिरेले जापानिज खानाको परम्परागत मूल्य र मान्यतालाई ध्यान दिएर जापानिज स्वादको परिकार उपलब्ध गराउनु यो रेस्टुरेन्टको विशेषता भएको बताए। यो रेस्टुरेन्टमा विशेषगरी जापानमा पाउने स्ट्रिट फुड पाउन सकिन्छ। रेस्टुरेन्टमा जापानिज स्ट्रिट फुड, नुडल्स, करिब ७० परिकारका खानाको स्वाद लिन सकिन्छ। स्ट्रिट फुडअन्तर्गत थाकोयाकी, थेवासकेलगायत र मुख्य खाना सुसी, रामेनलगायत विभिन्न परिकारको मौलिक स्वाद लिन सकिन्छ।
जापानमा जस्तो किसिमको स्वाद पाउने हो त्यही मरमसलाको प्रयोग गरी खानाको स्वाद यो रेस्टृुरेन्टमा पाइने घिमिरेको दाबी छ। पछिल्लो ट्रेन्डअनुसार युवा वर्गमा फरक–फरक खानाको स्वाद लिने संस्कृति बढिरहेकाले पनि त्यस्ता पारखीका लागि माचुरी रेस्टुरेन्ट रोजाइमा पर्न सक्ने बताइएको छ।
खानाको स्वादलाई ध्यानमा दिएर जापानमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका अनुभवी कुकले यहाँ खाना तयार गर्नेछन्। हाल रेस्टुरेन्टमा करिब १६ जना कर्मचारी कार्यरत छन्। उनीहरूले जापानिज संस्कृति अनुसारकै लुगा लगाएर जापानकै तरिकाले खाना पारखीलाई स्वागत गर्दछन्। रेस्टुरेन्टमा न्यूनतम् १ सय रुपैयाँदेखि जापानिज खाना पाइन्छ। रेस्टुरेन्ट बिहान ११ बजेदेखि रातिको १० बजेसम्म खुल्नेछ।
यो रस्टुरेन्टको अर्को मुख्य विशेषता भनेको खाराउके पनि हो। जापानिज संस्कृतिमा सुरु खाना खाएपछि गीत गाउने परम्परा रहेको छ। यसैलाई खाराउके भनिन्छ। जापानमा २० वर्षभन्दा बढी समय बिताइसकेका रेस्टुरेन्ट सञ्चालक घिमिरे त्यहाँ सिकेको कला, संस्कृतिलाई नेपालमा चिनाउने प्रयास स्वरुप माचुरी टोकियो सञ्चालनमा ल्याइएको बताउँछन्।
उनका जापानको टोकियोमा २ वटा नेपाली रेस्टुरेन्ट पनि सञ्चालनमा छन्। नेपाली कला संस्कृति झल्काउने फुड फेस्टिबल, इभेन्टलगायत आयोजना पनि उनी अग्रसर बन्दै आएका छन्। यस्तै उनले नेपालमा नेपाली गार्मेन्ट सञ्चालन गरेर करिब ३ सय जना नेपालीलाई रोजगारी दिएका छन्। त्यहाँबाट उत्पादित सामान जापानमा नै लगेर बेच्ने गर्दछन्। व्यापारभन्दा पनि संस्कृतिको आदानप्रदान गर्ने मुख्य उद्देश्य रहेको घिमिरे बताउँछन्। तर, एउटै रेस्टुरेन्टमा सीमित भएर बस्ने योजना उनको छैन। आगामी दिनमा उपत्यका बाहिरका सहरमा पनि माचुरी टोकियोका शाखा खोल्दै जाने घिमिरेको योजना छ।
FACEBOOK COMMENTS