रातो टीका निधारमा टलक्क टल्कियो भनेर गीतमा भने जसरी महान चाड बडा दशैंअघिको अन्तिम शेयर कारोबार दिन सोमबार बजार रातो टिका जस्तै देखियो ।
दशैंको लागि भनेर सरकारले असोज २६ गते फूलपातीको दिनदेखि असोज ३० गते एकादशीको दिनसम्म सार्वजनिक बिदा दिएको छ । जसअनुसार अब् नेप्से पाँच दिन बन्द रही असोज ३१ गते आइतबार मात्र खुल्नेछ ।
सोमबार बजार सूचक मापक नेप्से २३.१९ अंकले घटेर बन्द भएको छ । सूचक घटेसँगै सोमबार नेप्से २६३९.३७ बिन्दुमा बन्द भएको हो । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ५.५६ अंकले घटेर ४९४.२२ अंकमा झरेको छ । यसदिन २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर ४४ हजार ४६२ वटा संख्यामा खरीद बिक्री भएका छन् । कारोबार रकम ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा समेटिएको छ ।
सोमबार नबिल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । बैंकको १७ करोड १३ लाख ८५ हजार ३१८ रूपैयाँ बराबरको १ लाख १८ हजार ४३ कित्ता शेयर कारोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरीको १६ करोड ९२ लाख, महालक्ष्मी विकास बैंक १२ करोड ४३ लाख, निफ्रा ११ करोड ६७ लाख र नेपाल बैंकको १० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंक, जीवन विकास लघुवित्त, सूर्या लाइफ संस्थापक, अरुण भ्याली हाइड्रोपावर र ग्लोबल आइएमई बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको ग्लोबल बैंकको ७ करोड १७ लाखको शेयर कारोबारमा आएको छ ।
नेप्सेका अनुसार आज कारोबारमा आएका ११ वटा उपसमुह ओरालो लागेको छ भने दुई वटा मात्र उकालो लागेको छ । लगानी १.०७ र म्युचुअल फण्ड ०.३८ प्रतिशतका दरले बढेको छ । ब्यापार र अन्य सूचम २ प्रतिशत धेरैले घट्दा विकास बैंक, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्सको सूचक १ प्रतिशत धेरैले घटेका छन् । होछल, उत्पादनमुलक, निर्जीवन बीमा, जीवन बीमाको सूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।
शतप्रतिशत नगद लाभांश वितरणको घोषणाले सोमबार ग्लोबल आइएमई समुन्नत योजना १ को इकाई मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । योजनको इकाई मूल्य २१ रूपैयाँ ६७ पैसा पुगेको छ । यसैगरी सानिमा लाइफ इन्स्योरेन्स ७.८८, निफ्रा ५.०९, कुमारी इक्वीटी फण्ड ३.३८, राष्ट्रिय बीमा कम्पनी संस्थापक शेयर ३.१५ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS